काठमाडौं– ‘बदाम लिनुहुन्छ, नानी?’
‘ठूलो कुरुवाको ६०...।’
ठूलो कुरुवामा बदाम भरेर उनी प्लास्टिकमा हाल्छिन्। अनि छेउको नाङ्लोमा भएको साग केलाउन थाल्छिन्।
घाम अस्ताइसकेको थियो।
मानिसहरूको चहलपहल बढ्दै थियो।५७ वर्षकी सीता तामाङ बाटोमा हिँड्नेहरूलाई पुलुक्क हेर्छिन्। हिँड्नेहरूमध्ये कोही आउँछन्, बदामको मूल्य सोध्छन्। कोही मूल्य सोधेर नकिन्दै अगाडि लक्म्कन्छन्।
कोही चाहिँ किनिहाल्छन्।
थापाथलीस्थित पेटीमा अडेस लागेर दिनभरि सीता बदाम भर्छिन्, अनि बाटो हिँड्ने ग्राहकलाई बेच्छिन्। थुप्रै पटक त्यो बाटो हिँड्दै गर्दा मेरा आँखा बदाम बेचिरहेकी सीतासँग ठोकिए। विस्तारै उनीसँग कुरा गर्न थालेँ। सीताले सुनाएका विगतका केही टुक्रा जीवन सुनेर म फर्कन्थें। एकदिन बदाम छडाएझैं गर्री सीताले पुराना स्मृतिहरू छडाउन थालिन्।
०००
२ दशकअघि उनी बागमतीको किनारमा बालुवा बोक्थिन्। आफैं छानेर १२ डोको बालुवा बोकिसक्दा उनको दिन ढल्किसक्थ्यो। ‘दैनिक ज्याला ६० रूपैयाँ थियो। थोरै ज्यालामा धेरै काम गरिन्थ्यो नानी,’ सीता सुनाउँछिन्।
बालुवा बोकेर वर्षौं बिते। बालुवा बोक्दाबोक्दै उनी प्रेममा परिन्। आफूले प्रेम गरेको युवक घरको गाह्रो लागउँथे। उनी डोकोमा बालुवा बोक्थिन्। घर बनाउँदा टुसाएको प्रेमबाट उनीहरूले नयाँ संसार निर्माण गरे।
दुवै मजदुरी गर्थे। दिनभरिको कमाइले साँझमा चुलो बलेकै थियो।
धादिङको गरिब परिवारमा जन्मेकी सीताको बाल्यकाल अभावमै बित्यो। ०३२ सालमा नौ वर्षको छँदा उनी संघर्ष गर्न काठमाडौं आइन्। काठमाडौंमा बालुवा बोक्दाबोक्दै माया बस्यो, विवाह भयो, अनि पहिलो सन्तान पनि जन्मियो।
सुत्केरी हुने अघिल्लो दिनसम्म पनि उनले बालुवा बोकिरहिन्। ०४९ सालमा सीताको पहिलो छोरा जन्मिएका थिए। ‘कामबाट फर्केपछि साँझ व्यथाले च्याप्यो। भोलिपल्ट बिहान त बाबु जन्मियो,’ उनी सुनाउँछिन्।
सीता ३ महिना मजदुरी गर्न गइनन्। त्यसपछि उही दैनिकी अपनाउन थालिन्। तीन वर्षपछि छोरी जन्मिँदा पनि बालुवा नै बोकिरहेकी थिइन्।
सीताले बालुवा बोकेरै सन्तान पनि हुर्काइन्। बालुवा बोकेको २७ वर्षपछि एकदिन यो काममा पूर्णबिराम लाग्यो। नदीबाट बालुवा निकाल्न रोक लगाइयो। त्यसपछि उनको दैनिकीको लय बदलियो।
उनले थापाथली चोकको फुटपाथमा मकै पोल्ने दैनिकी सुरु गरिन्।
०००
उनले २० घोगा मकै कालीमाटीबाट ल्याइन्। हरियो मकैको प्रतिघोगा ५ मोहोर रुपैयाँ थियो त्यतिबेला। पोलेको मकै ५ रूपैयाँमा बिक्री हुन्थ्यो।
पहिलो दिनको कमाइ ६५ रुपैयाँ भएछ। ‘दिनभरि बालुवा बोक्दा ८० रुपैयाँ हुन्थ्यो। बालुवा बोक्नुभन्दा मकै पोल्नु सजिलो। यति कमाइले खुसी भएँ,’ सीता सुनाउँछिन्।
दाउरा सजिलै पाइने, मट्टितेल लिटरको ७ रूपैयाँ। मकै पोल्ने काममा उनी अभ्यस्त भइन्। र त्यसमै रमाउन थालिन्।
डेराभाडा बढ्दै गएपछि उनीहरू चिन्तित थिए।०६२ सालमा थापाथलीस्थित बागमती किनारामा घरजग्गाबिहीनले वासस्थान बनाउन थाले। त्यसपछि उनी पनि त्यतै गइन्। सीता दम्पतीले त्यहाँ टहरा बनाएर बस्न थाले। डेरा भाडामा लाग्ने खर्च बचत भयो।
पछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चल्यो। उनले दुःख गरेर जोरजाम गरेका मालसामान सबै पुरिए। फेरि नयाँ टहरा निर्माण गरिन्। फेरि पनि भत्कियो। ‘कहिले बाढीले दुःख दियो, कहिले मान्छेहरूले,’ सीता सुनाउँछिन्।
छोराछोरी हुर्किए। र दुवैको विहे पनि भयो। छोरी वैदेशिक रोजगारीका लागि साइप्रस छिन्। छोरा भने कुलतमा फसे, घरमा सताउन थाले। अहिले उनी एक्लै सतुङ्गलतिर बस्छन्।

‘छोरा एकातिर छ। बुहारी हामीसित छ। बुहारीलाई छोरासँगै पठायो भने त्यसको बानी खराब छ। तीन वर्षको नाती छ। मैले सकुन्जेल बुहारी, नाती पाल्छु। पछि ठूलो भएपछि त मलाई मेरो नातीले पाल्छ नि,’ आशाको भावमा सीता भन्छिन्।
हिजोआज सीताको दैनिकी बिहान ५ बजेबाट सुरु हुन्छ। बिहान जुरुक्क उठेर कालीमाटी होलसेल बजार पुग्छिन्। त्यहाँबाट उनले बदाम, अमला किनेर ल्याउँछिन्। घर फर्केपछि भान्सामा बुहारीलाई सघाउँछिन्।
काठमाडौंको सडकमा कहिले बालुवा बोकेर, कहिले मकै पोलेर त कहिले बदाम बेचेर उनले झण्डै पाँच दशक बिताइन्। हिजो काठमाडौं आउँदाको दुःख अहिले पनि उतिकै छ।
सीतालाई हिजोको भन्दा अहिले मुस्किल बढिरहेको छ। दैनिक आम्दानीले घर धान्नै धौ–धौ बनेको छ। त्यसमाथि नगरपालिकाले घरबाट पनि उठिबास लगाउन खोज्छ, कामबाट पनि। न सडकमा उनका लागि ठाउँ छ, न आफ्नै बस्तीमा।
आजकल सीताको दैनिकीलाई यो प्रश्नले बारम्बार कोट्याइरहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।