काठमाडौं– मंगलबार बिहान ९ बजे कलंकी चोकमा बस कुर्ने यात्रुको भीड थियो। स्वयम्भुबाट बा५ख ९१०६ नम्बरको लभगुरु एक्सप्रेस (शुभकामना) चोकमा आएर रोकियो।
बसका सहचालकले बोलाए– ‘ल आउनुस् बानेश्वर, कोटेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर। बस स्वयम्भुदेखि भक्तपुर विरुवासम्म चल्नेरहेछ।’
‘गुड मर्निङ, गुड मर्निङ। सबैलाई नमस्कार, धेरैपछि स्वागत छ– लब गुरु एक्सप्रेसमा।’
‘आराम कुशल हुनुहुन्छ सबैजना?’ ‘बोल्नु हुन्न, लजाउनु भएको होकी रिसाउनु भा हो?’
यात्रुहरूसंग परिचित लवजमा बोलिरहेका थिए बसका चालक प्रेम घिसिङ।

बसको ढोकानिर पानीको कार्टुन छ। सिटमाथि साना डोका झुण्डाइएका छन्। डोकामा लेखिएको छ, ‘लब गुरुको गाडीमा फोहोर डोकोमा।’
अनि अर्को साइडमा लेखिएको छ– ‘फोहोर मलाई।’
चालक र सहचालकको नम्र बोलीले नयाँ यात्रुहरू अचम्मित थिए। ‘पहिला त चक्लेट हुन्थ्यो, आज खै?’ यसअघि नै लभगुरु एक्सप्रेस बस चढिसकेकी एक यात्रुले सोधिन्।
‘काकी, हात अगाडि बढाउनुस्। मुख मीठो गर्दै यात्रा गर्नुस्,’ रुद्राक्षको ढकियाबाट एक मुठ्ठी चकलेट निकालेर उनले दिँदै भने, ‘अनि यो मुना बाँडेर खानुस्।’
चालकले तीन चारथरिका चकलेट एकै ठाउँ मिसाएर ‘मुना’ नाम दिएका रहेछन्।
‘पीरो, नुनिलो, गुलियो सबै प्रकारका चकलेट भएकाले मुना नाम दिएको,’ उनले कारण खुलाउँदै भने।
उता सहचालक ‘पछाडिदेखि मिलेर बस्नुस हजुर’ भन्दै यात्रु मिलाउँदै थिए। अफिस टाइम भएकाले एकै छिनमा बसमा यात्रु भरिए। चालकले गियर दबाएर स्टेयरिङ घुमाएपछि बसको यात्रा सुरु भयो। र सँगै उनले सुरु गरे जीवनका आफ्ना कथा।

रामेछापको धोवी गाउँमा उनी जन्मे। गोठालो जाँदै उनले बाल्यकालमा पढाइ जारी राखे। ०५६ सालमा एसएलसी सकेर उनी नेपाल आर्मीमा भर्ती हुन गए। बुबा इण्डियन आर्मी भएकैले चाहना पनि त्यही थियो– छोरा आर्मी बनोस्।
तर भर्ती भएको केही महिनामा बुबालाई त्यतिबेलाको भूमिगत माओवादीले अपहरण गर्यो।
‘माओवादीले बुवालाई छुटाउन कि जागिर छाड् कि एक लाख रुपिँया दे भनेर मागे। पैसा दिन सकिनँ, जागिर छाडेँ,’ उनी सम्झन्छन्।
०००
बस त्रिपुरेश्वरको राहदानी विभाग अगाडि पुगेर रोकियो। बसमा ब्रेक लगाउँदै प्रेमले ठूलो स्वरमा बोले, ‘कोही हुनुहुन्छ साउदी, कतार, मलेसिया, अमेरिका, अष्ट्रेलिया जाने? हुनुहुन्छ भने झर्नुस् है यहीँ हो।’

त्यहाँ केही यात्रुहरू ओर्लिए।
‘जाऊँजाऊँ गुरु,’ केहीछिनमा सहचालकले संकेत गरे।
त्यसपछि बस अगाडि बढ्यो। प्रेमले आफ्ना विगतका प्रसंग पनि अगाडि बढाए।
बुबा छुटेपछि पनि उनी माओवादीको तारोमा परिरहे। त्यही डरले उनी इण्डिया गए। एकजना साथीको लहैलहैमा इण्डियन आर्मी बन्छु भनेर हानिएका उनी त्यहाँ पुगेपछि अलपत्र परे। ‘आर्मी बनाइदिन्छु भनेर पैसा लिएको मान्छे ट्वाइलेट जान्छु भनेर हिँड्यो। फर्किएर आएन,’ उनले भने।
प्रेम र उनका साथी मुम्बईको नालीमा तीन दिन भोको पेट सुते। चौथो दिन उनीहरूले एकजना भारतीय व्यक्ति भेटे, ती व्यक्तिले सुरक्षा गार्डको काम पाउने ठाउँमा पुर्याए।
दुवैसँग नेपाल आर्मीको कार्ड थियो। कार्ड भएपछि सुरक्षा गार्डको जागिर सजिलै पाए। प्रेमको ड्युटी मन्दिरमा थियो। ७ महिना ड्यूटी गरेपछि उनी कम्पनीमा पुगे।
०००
बस थापाथली क्याम्पस पुगिसकेको थियो। चालकले यात्रु ओराल्न बस रोके। ‘दिदीबहिनीका लागि माइतीघर दाजुभाइका लागि ससुराली घर आयो। यता झर्ने हुनुहुन्छ भने झर्नुस्,’उनले ठट्यौली पारा मिसाउँदै भने। बस फेरि अगाडि लाग्यो। उनले आफ्नो कथा जारी राखे।

उनी गार्डको काममा सन्तुष्ट थिएनन्। इन्डियाकै एउटा साथीले ड्राइभिङ सिक्न सल्लाह दिए। एक सरदारले ड्राइभिङ सिकेर आफ्नो गाडी चलाउने मान्छे खोजेका थिए। ती साथीले सरदारसँग भेट गराइदिए। त्यसपछि सरदारले उनलाई ड्राइभिङ सिकाए।
आफूलाई चालक बनाउने ती इण्डियन साथीको गुन उनी कहिल्यै बिर्सन्नन्। गाडी सिकेपछि प्रेमले सवारी चालक अनुमति पत्र पाए। त्यसपछि उनी सरदारको पक्का चालक बने।
त्यसपछि सरदारले उनलाई मासिक ७ हजार आइसी तलब दिएर राखे।
०६३ पछि नेपालमा गणतन्त्र स्थापित भयो। अब देशमा पहिलेजस्तो द्वन्द्व हुनेवाला थिएन। उनी ढुक्क भएर नेपाल फर्किए। घर फर्केर निकै समय बसे। कमाइ देखेनन्। त्यतिबेला साथीभाइ विदेश जाने लहड थियो। उनले पनि पासपोर्ट बनाए। बनाएको केही समयमै उनी साउदी पुगे।
साउदीमा उनले २ वर्ष ड्राइभिङ गरे। तर कमाइ राम्रो थिएन। बहराइनमा राम्रो कमाइ छ भन्ने सुनेका थिए प्रेमले। त्यसपछि उनी बहराइन गए। बहराइनमा पनि उनले ड्राइभिङ नै गरे।
८ वर्ष उनी बहराइन बसे।
‘कतिन्जेल बस्ने विदेश। अब नेपालमै फर्केर केही गर्छु,’ विदेशमा एक दशकभन्दा बढी बिताएपछि उनले निक्र्यौल गरे।
त्यसपछि नेपाल फर्किएर प्रेमले बस चलाउन थाले। उनले सुरुमा पर्यटनका बस चलाए। कमाइ राम्रै थियो।
तर केही समयपछि उनलाई काठमाडौं उपत्यकाभित्र बस चलाउन मन लाग्यो। उनले बागमती यातायात थानकोटदेखि बालकोट सम्मको रुटमा चलाए। २ महिनापछि फेरि उनले स्वयम्भुदेखि बालकोटको शुभकामना बस चलाए।

५ वर्ष साहुको गाडी चलाए। २ वर्षअघि बैङ्कबाट ऋण झिकेर आफ्नै गाडी किने। ‘गाडीको १३ लाख बुझाएँ। अब २३ लाख बाँकी छ,’ उनी भन्छन्।
गाडीका मालिक आफैं थिए। उनले यात्रुहरूका लागि सुविधा आफ्नै बसमा के हुनसक्छन् भनेर सोचे।
त्यसपछि प्रेमले बसमा यात्रा गर्ने यात्रुलाई निःशुल्क पानी र चकलेट बाँड्न थाले। यदि कुनै यात्रुले घरमा पैसा बिर्सिएको छ भने उनलाई १ सय रुपैयाँ बोनसधरि दिने सुविधा प्रेमको बसमा छ।
चकलेट राखिसकेपछि फोहोर फाल्न समस्या हुने। उनले फोहोर फाल्न सहज हुनेगरी सिटको माथिपट्टि सानो डोको राखे। चकलेट र पानी राख्दा यात्रुहरू खुसी हुन्छन्। उनीहरू खुसी हुँदा प्रेम पनि खुसी हुन्छन्। ‘अरुले किन यसो गरेको, घाटा लाग्दैन भनेर सोध्छन्। तर मलाई के घाटा,’ उनी भन्छन्।
प्रेमको बसमा आठ कक्षासम्मका विद्यार्थी, अपाङ्ग, अशक्त, वृद्धलाई भाडा लाग्दैन।
०००
प्रेमले बसमा पानी भने त्यसै राखेका हैनन्। यसमा उनको बाल्यकालको सम्झना जोडिएको छ।
उनी सानो हुँदा गाउँमा घाँस काट्न जङ्गल पुगेका थिए। जङ्गलमा तिर्खा लाग्दा पानीको मुहान कतै भेटिएन। उनी पानी खोज्न जङ्गलमा भौतारिए। जङ्गलमा पानी नपाउँदा आफूलाई प्यास लागेको घटना सम्झिएकै कारण उनले गाडीमा पानी राखेको बताए।
उनले बसबाट दिनमा कम्तिमा चार हजार कमाउँछन्। यो कमाइले उनलाई प्रशस्त पुग्छ काठमाडौंमा।
बस चलाउने क्रममा उनको जीवनमा डरलाग्दो क्षण पनि आयो।
गत बैशाखमा उनको बस सर्लाहीबाट फर्कँदै थियो। धुलिखेलमा आइपुगेपछि बाइक गाडीमा आएर एक्कासि ठोकियो। उक्त बाइकका चालक र पछाडी बस्ने व्यक्ति गम्भीर घाइते भए। उपचारका क्रममा एकजना घाइतेको मृत्यु भयो। प्रेम जेल परे। उनको मनले भन्छ, ‘मेरो गल्ती थिएन।’
२६ दिनपछि उनी जेलबाट छुटे १४ लाख ऋण बोकेर। उनी फेरि आफ्नो दैनिकीमा लागे।
त्यो डरलाग्दो घटना उनी कहिल्यै भुल्न सक्दैनन्। ‘२२ वर्ष गाडी चलाएँ। यस्तो केश कहिल्यै लागेको थिएन। म नेपालमै भएँ ज्यानमारा ड्राइभर। विना गल्ती १४ लाखको चोट लागेको छ,’उनी दुःखी मुद्रामा भन्छन्।
०००
कथा सुन्दासुन्दै बिरुवाको बस बिसौनी आइपुगेछ। गन्तब्य सकिएपछि सबै यात्रु ओर्लिए। चालक पनि बस बिसाएर खाना खाने होटलतर्फ लागे। उनले सँधै खाना खाने ठाउँ होटल थियो त्यो।
खाना खाइसकेपछि फेरि बस स्टार्ट गरे प्रेमले। विरुवादेखि बालकोट हुँदै कलंकीतर्फ लागे। छोटो दुरीमा यात्रा गर्ने यात्रुबाट उनले १० रुपैयाँ मात्र पनि लिए।
‘दुई मिनेटको बाटोमा के २० रुपैयाँ लिने,’ उनी भन्थे।
उनी जतिबेलै पनि यात्रुसँग नम्र भएर बोल्थे। सहचालक पनि उस्तै भद्र थिए। फर्किँदा पनि प्रेमले यात्रुहरूलाई चकलेट बाँडिरहे।
उनको चकलेटले केही यात्रुहरू ओर्लँदासम्म पनि मुख मिठाइरहेका देखिन्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।