बैतडी– मट्टितेल छर्केर आफ्नै शरीरमा आगो लगाएकी दार्चुलाकी १ महिलाको मृत्यु भएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी अन्दाजी ४५ वर्षीया सुना साउँदले आइतबार शरीरमा मट्टितेल छर्केर आगो लगाएकी थिइन्।
सुनाले आइतबार बिहान ११ बजेतिर आफ्नै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केर उनलाई छिमिकीले देखेपछि उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए।
साउदको घुँडाभन्दा माथिको भाग जलेकाले अवस्था गम्भीर भएको भन्दै गोकुलेश्वर अस्पतालले अन्त रेफर गरेको थियो। आगोबाट जलेर गम्भीर घाइते भएकी उनको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
‘उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्दा आइतबार राति नै उनको मृत्यु भएको हो,’ प्रहरी प्रवक्ता सिंहले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ। परिवारका सदस्यसँग हिजो (आइतबार) नै सोधपुक्ष गरिएको छ।’
मृतक सुनाको शव पोस्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ। सुनाले आफ्नै शरीरमा आगो लगाउनुको कारण भने खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।