एजेन्सी–ओमानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिकाबीच शनिबार अप्रत्यक्षरूपमा भएको वार्ताले आगामी थप वार्ताका लागि वातावरण बनेको वार्तामा संलग्न दुवै पक्षले बताएका छन्।
ओमानको राजधानी मस्कटमा दुई देशका प्रतिनिधिमण्डलबीच मध्यस्थ ओमानी कुटनीतिज्ञको सहयोगमा अप्रत्यक्ष वार्ता भएको थियो।
इरानको आणविक कार्यक्रमलाई लिएर सन् २०१८ यता दुई देशबीच भएको यो उच्चस्तरीय बैठक हो। दुवै देशले पहिलो चरणको बैठकलाई ‘रचनात्मक’ भनेका छन्। अर्को साता दोस्रो चरणको छलफल हुनेछ।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ ह्विटकोफले गरेका थिए। इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानी विदेशमन्त्री अब्बास अराघचीले गरेका थिए।
ओमानका विदेशमन्त्री बद्र बिन हमाद अल बुसैदीमार्फत दुवै देशका प्रतिनिधिलाई सन्देश पठाइएको थियो।
यद्यपि, बुसाईदीको उपस्थितिमा अराघची र विटकोफले केही मिनेट प्रत्यक्ष कुराकानी पनि भएको थियो।
“मेरो विचारमा, पहिलो बैठकको रूपमा, यो एक रचनात्मक बैठक थियो जुन धेरै शान्तिपूर्ण र सम्मानजनक वातावरणमा भएको थियो, किनकि वार्तामा एक अर्कालाई अपमानित गर्नेे खालको कुनै अनुचित भाषा प्रयोग गरिएको थिएन,” अब्बास अराघचीले वार्तापछि इरानी सरकारी टिभीसँग भने।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “वार्ता निकै सकारात्मक र रचनात्मक रहेको छ।”
इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता ‘अर्को हप्ता’ पनि जारी राख्ने बताएको छ।
अमेरिका र इरानबीच मस्कटमा शनिबार भएको वार्ताको मध्यस्थता गरेका ओमानका उच्च कूटनीतिज्ञले ती वार्ताहरू ‘मैत्रीपूर्ण वातावरण’ मा सम्पन्न भएको र ‘निष्पक्ष र बाध्यकारी सम्झौता’ को खोजी सुरु गरेको बताएका छन्।
“मस्कटमा शनिबार हामीले इरानी विदेशमन्त्री डा सैयद अब्बास अराघची र अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफलाई स्वागत गर्यौं र निष्पक्ष र बाध्यकारी सम्झौता सम्पन्न गर्ने साझा उद्देश्यका साथ वार्ता र वार्ताको अन्य प्रक्रिया सुरु गर्न मध्यस्थता गर्यौं।
मैत्रीपूर्ण वातावरणमा भएको यो सम्बन्धका लागि म मेरा दुई सहकर्मीलाई धन्यवाद दिन चाहन्छु,” विदेशमन्त्री बद्र अल्बुसैदीले एक्समा पोस्ट गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।