पोखरा–नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार ढल्ने अवस्थामा पुगिसकेको बताएका छन्।
मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार ढलेमा नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका हुन्।
सरकार ढल्यो भने पहिलोले दाबी गर भनेका छौँ। तेस्रो पार्टीले १८ महिना सरकार चलाएर रेकर्ड बनाएका छौँ, दोस्रोले पनि १ वर्ष चलाएको छ’, उनले भने, ‘अब पहिलोलाई बहुमत एमाले र माओवादी विना पनि पुग्छ। पहिलोले नेतृत्व दाबी गर भन्ने हाम्रो भनाइ हो। बहुमत नै पुगेन भने हामी सोच्छौँ।’
पहिलो पार्टीले सरकार नचलाए फ्रेस म्यान्डेटका लागि जनतामा जानु उपयुक्त हुने उनको सुझाव छ। कांग्रेस र एमालेले एक अर्कालाई तर्साउन माओवादीसँग संवाद भएको हल्ला गरिएको भन्दै उनले त्यस्तो हल्लामा कुनै सत्यता नरहेको बताए।
उनले वर्तमान सरकार माओवादीका कारण नभई आफ्नै कारण ढल्ने पनि दाबी गरे। गभर्नर नियुक्ति प्रकरणले सरकार ढल्ने अवस्था बनेको पनि पुनको भनाइ थियो।
उनले अहिले चर्चा गरिएका व्यक्तिहरू गभर्नर नियुक्त नहुने पनि तर्क गरे। ‘गभर्नर खाली हुनुभन्दा १ महिना अघि नयाँ गभर्नर सिफारिस हुनुपर्थ्यो। अहिले रिक्त भएको २ महिनासम्म नियुक्ति हुन सकेको छैन’, उनले भने, ‘अहिले चर्चा गरिएका मान्छे पनि नियुक्त हुँदै छैनन्। किनकि उनी पनि बिचौलियाले रुचाइएका व्यक्ति होइनन्। यही कारण सरकार ढल्नेजस्तो भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।