काठमाडौं – आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै छ ।
नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
मंगलबार सम्पन्न सुपर थ्रीको अन्तिम खेलमा थायल्यान्डसँग पराजित भएपछि नेपाल उपविजेताका रूपमा ग्लोबल छनोटमा पुगेको थियो । यसअघि नेपालले युएईलाई पाँच विकेटले पराजित गर्दै ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो ।
नेपाल पहिलो पटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
ग्लोबल क्वालिफायर्सका शीर्ष चार टोलीहरू इङ्गल्याण्ड र वेल्समा सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म आयोजना हुने महिला टी–२० आई विश्वकपमा स्थान बनाउने छ । ग्लोबल छनोटमा कुल १० राष्ट्रबीच विश्वकप प्रवेशको लागि प्रतिस्पर्धा हुनेछ ।
विश्वकपमा आयोजक टोली इङ्गल्याण्डसहित अष्ट्रेलिया, भारत, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंका सिधै छनोट भइसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।