काठमाडौं– नेकपा माओवादी केन्द्रले पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रसारण गरेको आधारमा पक्राउपूर्जी जारी गरिएको घटना तथा नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशप्रति आपत्ति जनाएको छ ।
उपाध्यक्ष्इा तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै सरकारको यस प्रकारको कार्य प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरित भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘समाचार सामग्रीमा त्रुटि, पूर्वाग्रह वा तथ्यगत कमजोरी देखिएको छ भने त्यसको समाधानका लागि प्रेस काउन्सिल लगायतका नियामक निकायमार्फत् खण्डन गर्ने वा प्रतिवाद गर्ने विधि स्थापित छ । तर सरकारले प्रत्यक्ष रुपमा पक्राउपूर्जी जारी गरेर असहिष्णुता र दमनको नीति लिएको छ, त्यो लोकतान्त्रिक मर्म विरुद्ध छ ।’
माओवादी केन्द्र स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको सधैं पक्षधर रहेकोले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धका गतिविधि नगर्न र सञ्चारकर्मीमाथि जारी पक्राउपुर्जी फिर्ता लिन माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, लोकतन्त्रको आधार स्तम्भमध्ये स्वतन्त्र प्रेस एक महत्वपूर्ण खम्बा हो । प्रेस स्वतन्त्रताको संरक्षण, लोकतान्त्रिक मूल्यको सुदृढीकरण र नागरिक अधिकारको सुनिश्चितता नै समावेशी लोकतन्त्रको मूल आत्मा हो । लोकतान्त्रिक मूल्य र पद्धतिप्रति प्रतिबद्ध रहनका लागि सरकार र सबै पक्षहरूलाई जोडदार अपील गर्दछौं ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।