काठमाडौं– 'हैन म जान्नँ, म यहीँ बस्छु, बरु यतै मागेर खान्छु, मलाई यहीँ तातो छ', जाडोको मौसममा भद्रकाली मन्दिरको चिसो सिँढीमा सुतिरहेकी एक महिलाले धाराप्रवाह रुपमा भनिन्।
नक्साल महादेवस्थान नजिकै सानो गल्लीमा सिरक बेरेर बसिरहेको अवस्थामा उनी भेटिए। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले 'जाउँ हाम्रो घर' भन्दा उनले मानिनन्।
'म जान्नँ, मेरो आफ्नै घर छ, भोलि बिहान जान्छु,' ती महिलाले भनिन्। उनले नटेरेपछि महिला प्रहरीले उनलाई जबर्जस्ती उठाएर लगिन्। काठमाडौंको संकटामा भेटिएकी अर्की महिलाले पनि सडकमै राम्रो भएको र यहीँ मागेर खाने बताइन्।
महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले ‘मन नलागे भोलि आउनुहोला, आजचाहिँ जाउँ है’ भनेपछि अर्को दिन फर्कने सर्तमा उनी गाडीमा बसिन्।
म्याग्दी बेनीका सुवास सापकोटा मंगलबार राति सडकमा भेटिए। प्रहरीले फेला पारेर उद्धार गरिएका सापकोटा फाटेको लुगामा थिए।
काम खोज्दा कसैले नदिएपछि सडकमा बस्न बाध्य भएको उनले दुखेसो पोखे। यी विभिन्न उदाहरण हुन्। यसरी सडक, तथा मन्दिरका पेटीमा सुत्नेको संखेया काठमाडौंमा अत्यधिक छ। सडकमा यसरी रात बिताउँदै आएकाहरु सहजरूपमा सडक छाडेर जानै मान्दैनन्।
चिसोका कारण काठमाडौंमा दुई जनाको अकालमा ज्यान गइसकेको छ। महानगरीय प्रहरी परिसरका अनुसार चिसोका कारण उनीहरूको स्वास्थ्य जोखिममा पर्ने भएकाले पनि सबै क्षेत्रका प्रहरीलाई अशक्तहरुको अवस्थामा ध्यान दिन भनिएको छ।
सडकमा बस्नेहरु सहजै जान नमान्ने भएकाले उनीहरुलाई जबर्जस्ती उठाउनुपर्ने अवस्था रहेको मानवसेवा आश्रम प्रदेश नं ३ का संयोजक सुमन बर्तौला बताउँछन्।
कतिपय अवस्थामा आश्रममा स्वयंसेवीले उठाउनै नसक्दा सडकमै छाड्नुपर्ने अवस्था रहेको अनुभव उनीसँग छ। सडकमा जीवन गुजार्नुपर्ने बाध्यताको अन्त्यका लागि अहिले काठमाडौंमा सञ्चालन गरिएको अभियान मंगलबार राति पनि जारी रह्यो।
मानवसेवा आश्रम, प्रहरी परिसर काठमाडौं, काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषलगायत संघसंस्थाको सहकार्यमा सञ्चालन भएको उक्त अभियानका क्रममा गए राति मात्रै १३ जनाको उद्धार गरी आश्रममा राखिएको छ।
यसअघि सोमबार राति उद्धार गरिएका ५० जनालाई पनि आश्रममै राखिएको छ। पछिल्लो एक सातामै सडकबाट ८० जनाको उद्धार भइसकेको छ। सडकमा अझ धेरै अलपत्र रहेकाले उनीहरुको व्यवस्थापनमा भने चुनौती थपिएको छ।
सडकमा कतिपय वास्तविक पीडित भेटिएका छन्। धेरैजसो माग्ने पेसा बनाउनेहरू रहेकाले उनीहरुलाई सडकमै आउन नपाउने व्यवस्था गर्न जरुरी देखिन्छ।
महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानवसेवा आश्रमले लामो समयदेखि अभियान नै चलाएको छ। सडकमा असहाय अशक्त निकै कम भए पनि पेसा बनाएर बस्ने धेरै रहेको कोषका सदस्यसचिव डा ढकाल बताउँछन्।
घरायसी झगडा, हिंसालगायत आफैं विरक्तिएरसमेत वृद्धवृद्धा सडकमा आइपुगेका छन्। मानसिक सन्तुलन गुमाएका पनि सडकमै पुग्ने गरेका छन्। कतिपयचाहिँ माग्ने पेसा बनाएर सडकमा आएका छन् भने कतिपयलाई माग्न लगाएर पेसा गर्ने पनि छन्।
आश्रमले मागेरसमेत खान नसक्ने र मानसिक सन्तुलन गुमाएकालाई उद्धार गरी संरक्षण दिँदै आएको छ। 'अन्य व्यक्तिलाई राख्न सक्ने अवस्था छैन,' बर्तौला बताउँछन्। माग्ने पेसा बनाएकालाई भने सडकबाट निरुत्साहित गर्नुपर्नेमा उनको जोड छ।
महानगरीय प्रहरी परिसरका प्रमुख वसन्त लामा विभिन्न आश्रममा समन्वय गरेर सडकमा रात बिताउन बाध्य भएकाको उद्धार गरिने बताउँछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।