काठमाडौं- कोरोनाका कारण ठप्प नेपाली रंगमञ्च विस्तारै सक्रिय हुन थालेको छ। कोरोना महामारीको प्रभाव न्यून हुँदै गएपछि रंगमञ्चको सक्रियता बढ्न थालेको हो।
सरकारले महामारीको दोस्रो लहरमा लगाइएको निषेधाज्ञा हटाएपछि शिल्पी थिएटरले पहिलोपटक भौतिक उपस्थितिमा नै नाटक मञ्चन गरेको थियो। शिल्पीमा साउन १८ देखि २० गतेसम्म फ्रान्सेली लेखक झाँ-पल सात्रको नाटक ‘नो एक्जिट’को नेपाली अनुवाद ‘अनुपस्थित तीन’ प्रदर्शन भएको थियो।
लामो समयसम्म रंगमञ्चसँग साक्षात्कार हुन नपाएका दर्शक नाटक हेर्न शिल्पी पुगेका थिए। नाटक हेर्ने दर्शकको उपस्थिति उत्साहजनक थियो। लामो समयपछि अभिनेता विपिन कार्कीसँगै उषा रजक, पवित्रा खड्कालगायतले नाटकमा अभिनय गरे।
दर्शकको भौतिक उपस्थितिमै नाटक प्रदर्शन गर्ने बाटो खुलेपछि काठमाडौं उपत्यकामा रहेका थिएटरहरू अहिले विभिन्न नाटकको तयारीमा व्यस्त भएका छन्। केही थिएटरले त नाटक देखाउन थालिसकेका छन्। शैली थिएटरसँग आबद्ध सरस्वती अधिकारी र सुवास सुवेदीले गत साता महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’माथि रसियन कल्चर सेन्टरमा नाटक प्रस्तुत गरे।
शिल्पी थिएटरमै असोज १५ देखि १७ गतेसम्म सेक्सपियरको नाटक ‘एज यु लाइक इट’ प्रदर्शन भयो। यो नाटकको निर्देशन ग्रेटा राना र सहनिर्देशन आशान्त शर्माले गरेका हुन्। शिल्पी थिएटरले नै दसैंपछि देशका विभिन्न ठाउँमा नाटक-यात्रा गर्ने तयारी गरिरहेको छ। थिएटरमा नियमित कक्षा सञ्चालनसँगै नाट्य-यात्राको तयारी भइरहेको शिल्पीका निर्देशक घिमिरे युवराज बताउँछन्।
‘कौसी थिएटर’मा केही समयअघि ‘हरेक बबाल कुरा’ नाटक प्रदर्शन भएको थियो। भदौ २५ देखि असोज १ गतेसम्म चलेको यो नाटक पुनः प्रदर्शन गरिएको छ। असोज १५ देखि सुरू भएको प्रदर्शन आज (२० गते) सम्म चल्नेछ। अघिल्लोपटक मञ्चन हुँदा दर्शकले दिएको प्रतिक्रिया र नाटकप्रतिको उत्साहलाई ध्यानमा राख्दै नाटकलाई पुनः मञ्चन गरिएको हो।
सिनामंगलस्थित ‘पुरानो घर’ थिएटरमा पनि यतिबेला नाटक प्रदर्शन भइरहेको छ। सुलक्षण भारतीको लेखन/निर्देशनसँगै अभिनयमा बनेको नाटक ‘म’ आजसम्म चल्नेछ। ‘दर्शक नआएको भन्न मिल्दैन, आइरहनुभएको छ,’ निर्देशक भारती भन्छन्, ‘तर, दैनिक प्रदर्शन हुँदा दर्शकको संख्या कम छ। पाँच जनादेखि बढीमा १० जनासम्म आइरहनुभएको छ।’
पुरानो घर थिएटर नयाँ संरचनासहित भर्खरै खुलेको हो। थिएटरबारे दर्शकले थाहा नपाएको भएर पनि हेर्न आउनेको संख्या कम भएको भारतीको आकलन छ।
पुरानो घरमा नाटक प्रदर्शन गरिरहँदा व्यवस्थापनले निश्चित मापदण्ड अपनाएको छ। भौतिक दूरी कायम गर्नेदेखि भीडभाड नगर्ने किसिमले नै नाटक प्रदर्शन गरिरहेको बताउँछन् भारती।
‘हामीले आर्थिक पाटोको लागि नभएर रंगमञ्चलाई चलायमान बनाउन थिएटरको काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘हाउसफुल हुने भए पनि नाटकमा भएको खर्चअनुसार फाइदा हुँदैन। तर, हामीले खाली बस्नुको सट्टा नाट्य क्षेत्रलाई सक्रिय बनाउन काम गरेका हौं।’
खोपको उपलब्धता बढ्दा कोभिडको प्रभाव कम हुँदै गए पनि कला क्षेत्र भित्रका थुप्रै क्षेत्र खुल्न सकेका छैनन्। सिनेमा हलहरूमा फिल्म प्रदर्शन हुन सकेको छैन। फिल्महरू राम्रोसँग फ्लोरमा जान सकेका छैनन्। यसबीच रंगमञ्च भने १८ महिनाको अन्धकारबाट विस्तारै उज्यालोतर्फ अगाडि बढेको छ। रंगकर्मीहरू दर्शक आउने सम्भावना कम हुँदाहुँदै पनि जोखिम मोलेर रंगकर्मलाई भौतिकरूपमै सञ्चालन गरिरहेका छन्।
‘हाम्रो कामै यही हो,’ भारती भन्छन्, ‘हामी प्यासनले यो क्षेत्रमा लागेको मान्छे। खाली घरमा बसेर के गर्नु? हामीले काम गरेनौं भने भोलि झन् के हुन्छ, के! कमसेकम अहिले हामीले काम गर्दा नाटक गर्यौं भन्ने त हुन्छ।’
रंगमञ्चमा दर्शकको उपस्थिति धेरै देखिएका छैनन्। तर, करिब दुई वर्षको निस्क्रियतापछि रंगमञ्चहरू खुल्दा यो क्षेत्रसँग जोडिएका रंगकर्मीहरू उत्साहित छन्। रंगमञ्चको काम सञ्चालन गर्नुको विकल्प नभएरै पनि काम सुरू भएको उनीहरू बताउँछन्।
पुरानो घरमा ‘म’ नाटकको प्रदर्शन सकिएलगत्तै ‘तीन तल्ला’ भन्ने नाटक प्रदर्शन हुँदै छ। थिएटरमा हाल नाटक प्रदर्शनसँगै तीन तल्लाको प्रि-प्रोडक्सनका कामहरू भइरहेका छन्। उक्त नाटकलाई दसैं-तिहारपछि प्रदर्शन गर्ने गरी काम भइरहेको भारती बताउँछन्।
पुरानो घरजस्तै अहिले अन्य रंगमञ्चहरू पनि नाटकको तयारीमा जुटेका छन्। रातोपुलस्थित शैली थिएटरले दसैं-तिहारपछि प्रदर्शन गर्ने गरी नाटकको तयारी गरिरहेको छ। हाल स्क्रिप्ट लेखनदेखि त्यसलाई पढ्ने काम भइरहेको बताउँछिन् शैलीकी सरस्वती अधिकारी।
‘शैलीमा नाटकको तयारी भइरहेको छ,’ अधिकारी भन्छिन्, ‘हाल कक्षाहरू बन्द छन्। केही समय हामी फेरि रंगकर्ममै सक्रिय हुने र नाटक प्रदर्शन गर्ने गरी काम गरिरहेका छौं। दसैं-तिहारपछि प्रदर्शन गर्ने गरी अहिले नाटकको प्रि-प्रोडक्सन चलिरहेको छ।’
स्वतन्त्र रूपमा नाट्य क्षेत्रमा सक्रिय रहेका रंगकर्मी टंक चौलागाईं पनि यतिबेला आफ्नो नयाँ नाटकको तयारीमा जुटेका छन्। उनी थाहा आन्दोलनका अभियन्ता रूपचन्द्र विष्टमाथि आधारित रहेर ‘रुदाने’ नाटकको तयारी गरिरहेका छन्।
देशमा कोरोना महामारी चलिरहँदा चौलागाईं बालबालिकालाई नाट्य प्रशिक्षणसँगै विभिन्न कलेजमा प्रशिक्षण दिइरहेका थिए। त्यसैबीच गत वर्षकै मंसिरमा प्रदर्शन गर्ने गरी ‘रुदाने’ नाटकको तयारी गरिरहेका थिए। तर, कोभिडका कारण त्यो बेला नाटक प्रदर्शन गर्ने स्थिति नै रहेन।
अहिले नाटकलाई छिट्टै प्रदर्शन गर्ने गरी काम गरिरहेको चौलागाईं बताउँछन्। भन्छन्, ‘प्रि-प्रोडक्सनको काम सुरू गर्ने गरी तयारी भइरहेको छ। अहिले नाटकको लेखन गरिरहेको छु।’
कोभिडकै बीच पनि मण्डला थिएटरले सञ्चालनमा ल्याएको ‘मण्डला ड्रामा स्कूल’मा प्रशिक्षणको काम चलिरहेको थियो। मण्डलाले १६ जना विद्यार्थीलाई नियमित प्रशिक्षण दिइरहेको छ। अहिले भने नाटक प्रदर्शनको तयारीमा जुटेको छ।

गत वर्ष मण्डला थिएटरले पहिले प्रदर्शन भएका नाटकहरूलाई युट्युबमार्फत् ‘भर्चुअल’ रूपमा प्रदर्शन गरेको थियो। यो वर्ष मण्डलामा नाटक ‘युद्धका घाउहरू’ प्रदर्शन भयो। दर्शकलाई भौतिक रूपमा उपस्थित नगराइ उक्त नाटकलाई ‘भर्चुअल’ रूपमा प्रदर्शन गरिएको थियो।
अहिले भने मण्डलाले ड्रामा स्कूलका विद्यार्थीहरूलाई लिएर नाटकको तयारी गरिरहेको छ। दसैंपछि प्रदर्शन गर्ने गरी तयारी भइरहेको मण्डला थिएटरका सोमनाथ खनाल बताउँछन्। दर्शकको भौतिक उपस्थितिमै नाटक मञ्चन गर्ने गरी तयारी भइरहेको उनले बताए।
‘दसैंअघिसम्म हामी रिहर्सलमै व्यस्त छौं,’ खनाल भन्छन्, ‘दसैंपछि हामी तीन दिनलाई नाटक प्रदर्शन गर्नेछौं। त्यो बाहेक हाम्रा नियमित कामहरू भइरहेका छन्। अब सक्रिय रूपमा हामी नाटकसँगै जोडिएका कामहरू अगाडि बढाउने योजना बनाइरहेका छौं।’
कीर्तिपुरस्थित थिएटर मल पनि दसैं-तिहारपछि निरन्तर नाटकको प्रदर्शनमा जुट्ने तयारीमा छ। थिएटरका संस्थापक केदार श्रेष्ठका अनुसार रंगमञ्चलाई दसैं-तिहारपछि सक्रिय बनाउने योजना भएको छ।
‘कीर्तिपुरका स्थानीय मानिसलाई हामीले दर्शक बनाइसकेका छैनौं,’ श्रेष्ठ भन्छन्, ‘दर्शकलाई कीर्तिपुरसम्म बोलाएर नाटक प्रदर्शन गर्ने अवस्था अहिले अलि छैन। हाम्रो आन्तरिक तयारी भइरहेको छ। तर, नाटकको प्रदर्शन तिहारपछि नै हुन्छ।’
हाललाई नियन्त्रित देखिएको महामारी भोलि फेरि पुरानै शैलीमा बढ्दै गए नाट्य क्षेत्र, थिएटरलगायत सञ्चालनमा रोक नलाग्ला भन्न सकिँदैन। तर, सरकारले फेरि त्यस्तो निर्णय नगर्दासम्म भने रंगमञ्चको काम अब सक्रिय रूपमा हुने बताउँछन् पुरानो घरका भारती।
‘देश हामीले चलाउने होइन, सरकारले चलाउने हो,’ भारती भन्छन्, ‘अहिले एउटा क्लबमा, खाजा खाने रेस्टुरेन्टमा कति भीड हुन्छ। थिएटरमा त कमसेकम मापदण्ड पूरा गरेका छौं। राष्ट्रले खोलेपछि हामीले नाटक प्रदर्शन सुरू गरेका हौं। भोलि फेरि लकडाउन वा अरू केही नभएमा हामी अब निरन्तर रंगकर्ममा जुट्नेछौं।’
रंगमञ्चमा दर्शकको उपस्थिति धेरै देखिएका छैनन्। तर, करिब दुई वर्षको निस्क्रियतापछि रंगमञ्चहरू खुल्दा यो क्षेत्रसँग जोडिएका रंगकर्मीहरू उत्साहित छन्। रंगमञ्चको काम सञ्चालन गर्नुको विकल्प नभएरै पनि काम सुरू भएको उनीहरू बताउँछन्। लामो समयसम्मको निक्रियतापछि सबैजसो रंगकर्मी उत्साहित र नयाँ ऊर्जाका साथ काम गर्ने योजना बनाइरहेका देखिन्छन्।
‘यति धेरै समयसम्म खाली बसियो,’ शैली थिएटरकी अधिकारी भन्छिन्, ‘अब इनरजेटिक भएर काम गर्न थालेका छौं। विस्तारै सबै कुरा सहज पनि भएको छ। अब रंगमञ्चको काम पनि निरन्तर हुन्छ।’
विस्तारै सक्रिय भइरहेको रंगमञ्च पुरानै अवस्थामा आउन पक्कै लामो समय लाग्छ। हिजो सामान्य अवस्थामै पनि रंगमञ्चका सीमित दर्शक थिए, सीमित मान्छेमाझ मात्रै परिचित थियो रंगकर्म। झन्, कोभिडले त्यसलाई थलाइदियो।
रंगमञ्चलाई जीवित राख्न रंगकर्मीको सक्रियता अझ बढी आवश्यक देखिन्छ। रंगकर्मी चौलागाईं भन्छन्, ‘रंगमञ्च पुरानै अवस्थामा फर्किन अझै कम्तीमा दुई वर्ष लाग्छ। पहिलेकै जस्तो उत्साहमा दर्शक आउन समय लाग्छ। यसबीच हामी निरन्तर आफ्नो काम गरेर यो क्षेत्रलाई सक्रिय बनाउन आवश्यक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।