काठमाडौं– ‘सबै पढेलेखेका मान्छे विदेश जाने हो भने यो देश चाहिँ कसले बनाउँछ नि? ममाथि पढाइमा मात्र होइन, धेरै कुरामा सरकारको लगानी छ। मैले पनि त सरकारको ऋण तिर्नुपर्छ भनेर देशकै सेवा गर्ने निधो गरें।’
बालकृष्ण अवालले पीएचडी अध्ययनको छात्रवृत्ति त्यागे। त्यही कारण देश कोरोना भाइरस संक्रमणको चपेटामा परेको बेला सेवा गर्ने अवसर पाए। परिवार र साथीभाइले त यस्तो ‘फन्टुस’ निर्णय नगर्न भनेका थिए। तर, उनी आफ्नो निर्णयबाट सन्तुष्ट छन्।
उनी अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मेडिकल ल्याब टेक्निसियन छन्। २०७५ सालमा उनले माइक्रोबोयोलोजीमा पीएचडी गर्ने अवसर पाएका थिए। अष्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीले २ लाख अमेरिकी डलर (२ करोड ३६ लाख रुपैयाँ) बराबरको छात्रवृत्ति दिएको थियो। तर, उक्त छात्रवृत्ति त्यागेर उनले देशको सेवा गर्ने निर्णय गरेका हुन्।
माइक्रोबायोलोजीमा स्नातकोत्तर अध्ययन सकेपछि विधावारिधिका लागि उनले विभिन्न ठाउँमा आवेदन दिइरहेका थिए। सँगै लोकसेवाले लिने परीक्षाको तयारी पनि गरिरहेकै थिए।
पीएचडी सम्बन्धी उनका धेरै आवेदनहरु अस्विकार भइसकेका थिए। तर, ग्रिफिथ युनिभर्सिटीले भने उनको आवेदन स्वीकार गरेको थियो। यता लोकसेवाको परीक्षामा पनि त्यही वर्ष नाम निस्कियो। ‘दुवैतिरको नतिजा एक साताको फरकमा आएको थियो,’ अवाल सम्झिन्छन्।
अब उनका सामुन्ने दुई विकल्प थिए, परिवारसँगै बसेर सरकारी जागिर खाने वा पीएचडी गर्न विदेशिने। परिवार र आफन्तले उनलाई पाएको ठूलो मौका र रकम नगुमाउन दबाब नै दिए। त्यसमाथि प्रायः नेपालीको सपना बनेको मुलुक अष्ट्रेलियाबाट मौका आउनु ठूलो उपलब्धि भएको उनीहरूको भनाइ थियो।
तर, उनले सुरुको विकल्प रोजे। कैयौं दिनको छट्पटीपछि उनी देशमै बसेर सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने निर्णयमा पुगेका थिए। ‘मलाई लाग्यो, मैले सरकारी स्कुलमा पढेको छु, सरकारी कलेजमा पढेको छु,’ अवाल भन्छन्, ‘देशले ममाथि लगानी गरेको छ। त्यो फिर्ता गर्ने मौका पाएको जस्तो भयो। अध्ययनका लागि त्यही बेला जानुपर्छ भन्ने थिएन। पछि पनि यस्तो मौका पाउँथे। त्यसैले मैले देशकै सेवा गर्ने निधो गरें।’
भक्तपुरमा जन्मिएका अवालले २०५१ सालमा एसएलसी गरे। सिद्धार्थ बनस्थली स्कुलबाट आईएस्सीको अध्ययन गरेपछि उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जबाट ल्याब टेक्निसियनको अध्ययन पूरा गरे। त्यसपछि दुई वर्षसम्म उनले शिक्षण अस्पतालमै काम गरे।
दुई वर्षपछि धुलिखेल अस्पताल पुगे। त्यहाँ १ वर्षसम्म करारमा काम गरे। त्यस यता उनी निजी कलेजमा अध्यापन गराउँदै आएका थिए। २०७० सालमा भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्रको सुरुवात भएपछि उनी करार सेवामा प्रमुख ल्याब टेक्निसियन भए। पाँच वर्षसम्म त्यहाँ काम गर्दा उनले अंग प्रत्यारोपणका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिन नेपाल भित्र्याए।
यसबीच उनी थप अध्ययनको सोचमा थिए। विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा पीएचडीको लागि आवेदन दिइरहेका थिए। लोकसेवाको तयारी पनि थियो। लोकसेवाको परीक्षाबाट उनले स्वास्थ्य सेवाको मेडिकल ल्याब टेक्नोलोजिस्ट ९ औं तहमा नाम निकाले। ठूलो रकमको छात्रवृत्ति त्यागेर नेपाल बसेका उनी अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको उपप्रमुख छन्।
‘मेरा सबैजसो साथी विदेश गइसकेका थिए, म चाहिँ देशमै केही गर्ने भनेर बसिरहेको थिएँ’, अवाल भन्छन्, ‘देशमै केही गर्नुपर्छ भन्ने लागेको थियो, लोकसेवा पास नगरेको भए अरु नै कुरा हुन्थ्यो। अष्ट्रेलिया गएको भए पनि फर्किएर आउँथे। पीएचडीभन्दा लोकसेवा भिडेर पाएको मौका महत्वपूर्ण लाग्यो र यतै बस्ने सोच बनाएँ।’
देशमा अध्ययन गर्ने, थोरै अनुभव गरेर विदेश जाने र सकेसम्म उतै ‘सेटल’ हुनेहरुको संख्या बढिरहँदा अवालले गरेको निर्णय धेरैका लागि आश्चर्यजनक थियो। चिनजानकाले ‘देशमा केही हुँदैन, यहाँ मिहिनेत गरेर कसले पो देख्छ र?’ जस्ता कुरा गर्थे। अवाल भने समस्या हुँदा त्योबाट भाग्न नहुने बताउँथे।
‘समस्या त जहाँ पनि हुन्छ। सबै पढे–लेखेका मान्छे विदेश गएपछि देश कसले बनाउँछ? देशमा जनशक्ति नै नभएपछि समस्या त भइहाल्छ नि। म समस्याबाट भाग्नेभन्दा समस्यासँग जुँधेर त्यसलाई समाधान गर्नुपर्छ भन्ने लागेर यहीँ बसें,’ उनले भने।
लोकसेवा परीक्षा उत्तीर्ण गरेपछि अवालको पोस्टिङ भेरी अञ्चल अस्पतालमा भयो। उनले एक वर्ष त्यहाँ काम गरे। त्यसपछि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आए। काठमाडौं आउनेबित्तिकै कोरोना महामारी सुरु भयो। उनको कामको महत्व झनै बढ्यो।
‘यहाँ काम गर्न सक्ने अवस्थै छैन भन्ने धेरै छन्,’ उनी भन्छन्, ‘हाम्रो देशमा नहुने होइन, हुन्छ। तर, समय लाग्छ। समय लाग्छ भन्दैमा भागेर हिँड्ने त होइन नि! विस्तारै समयसँगै परिवर्तन हुँदै गएपछि समस्याहरु समाधान हुन्छ।’
देशमै केही गर्छु भन्ने भावनाले तीन वर्षअघि गरेको त्यो निर्णयले उनलाई सन्तुष्ट बनाएको छ। उनी भन्छन्, ‘पीएचडी त म पछि गरौंला। अहिले देशका लागि काम गरौं भन्ने हो। यो निर्णयमा सन्तुष्ट भएकै कारण खुसी छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।