काठमाडौं– भारतको पञ्जाबस्थित अमृतसरमा रहेको जल्लियावाला बागमा १२१ वर्षअघि भारतीय इतिहासकै दुःखद घटना भएको थियो। त्यहाँ स्वतन्त्रता माग्ने भारतीयमाथि इस्ट इन्डिया कम्पनी सरकारको फौजले अन्धाधुन्ध गोली चलाएर सयौँको हत्या गरेको थियो।
त्यसपछि गान्धीको पन्जाब भ्रमण स्थगित गरियो। स्वतन्त्रताका योद्धा सत्यपाल र सैफुद्दिन किट्चलेऊलाई गोप्य रुपमा निर्वासित गरियो।
सम्पूर्ण भारतीयसहित पञ्जाबका नागरिकहरु स्वतन्त्रता चाहन्थे। स्वतन्त्रताको मनोकांक्षामाथि कम्पनी सरकारका कदमहरू निरंकुश थिए। सन् १९१९ मा सरकारले ल्याएको ‘रोउलाट्ट नीति’को विपरीत भारतीयहरूले विद्रोहको आवाज उठाउन थालेका थिए।
तर, शासकहरूले विद्रोह मन पराउँदैनन्। शासकहरू शासितले चुपचाप आफ्नो आदेश मानिरहेको हेर्न चाहन्छन्। शासितहरू शासकको विपरीत गएमा बोली बन्द गराउन अनैतिक र ‘आपराधिक’ काम गर्न पनि पछि पर्दैनन्। पञ्जाबमा भयो पनि त्यस्तै।
पञ्जाबका तत्कालीन लेफ्टिनेन्ट गर्भनर माइकल फ्रान्सिस ओ डायरले नयाँ कानुन ल्याए। शहर छाड्न पर्मिट (अनुमति) आवश्यक भयो। सन् १९१९ अप्रिल १३ मा बैशाखी पर्वको दिन यी कानुन सैनिकको घेरामा बाजागाजासहित घोषणा गरियो। सडकमा साँझ ८ बजेपछि भेटिने मानिसलाई गोली हानिने भयो। चार जनाभन्दा धेरै मान्छे जम्मा भएको भेटिएमा उनीहरुलाई पनि गोली हानिने भयो।
सोही दिन जलियावाला बगैंचामा भारतीय स्वतन्त्रताको पक्षमा शान्तिपूर्ण आन्दोलनको लागि नागरिक भेला भइरहेका थिए। बालबालिकादेखि बयस्क र वृद्धवृद्धासम्मको उपस्थिति थियो। स्वतन्त्रता चाहनेको आकांक्षालाई कुनै धर्मले रोकेको थिएन। हिन्दू, मुश्लिम, क्रिस्चियन, सिखलगायत सबै उपस्थित थिए।
उक्त आन्दोलनबारे दिउँसो १२ बजे लेफ्टिनेन्ट गभर्नर माइकल ओ डायरलाई जानकारी गराइयो। उनले शान्तिपूर्ण आन्दोलनलाई आफूविरुद्धको कदमको रूपमा बुझे। उनी ९० सैनिकलाई लिएर सर्वसाधारण उपस्थित भएको ठाउँमा गए, अनि कुनै चेतावनीबिना धमाधम गोली चलाए। लामो समयसम्म क्रदन र गोली चलेको आवाज गुञ्जिरह्यो। जमिन रगतले लत्तपत्तिएको थियो। १६५० राउण्ड गोली चल्यो। कति जनाको मृत्यु भयो, कति घाइते भए, जानकारी छैन।
आफ्नो कार्यकाल सकेर केही समयपछि डायर बेलायत फर्किए। उनलाई बेलायतमै सन् १९४० मा भारतीय स्वतन्त्रता योद्धा उधम सिंहले गोली हानी हत्या गरे। लण्डनको केक्स्टन हलमा उनलाई गोली हानिएको थियो। मृत्युको केही क्षणअघिसम्म पनि उनले ‘जल्लियावाला बाग नरसंहार’ प्रति कुनै पश्चताप गरेका थिएनन्। आफूले गरेको सयौं निहत्थाको हत्यालाई उनी ‘आवश्यक’ बताइरहेका थिए।
सन् २०२१ मा प्रदर्शनमा आएको फिल्म ‘सरदार उधम’ पन्जाबका तत्कालीन लेफ्टिनेन्ट गभर्नर डायरले चालेको कदम र त्यसपछिको कथा हो। सुजित सिर्कारको निर्देशनमा बनेको फिल्मले त्यस्तो देशभक्तको कथा भन्छ, जसले स्वतन्त्रता संग्राम लडेका थिए।
बलिउडमा देशभक्तिका फिल्महरु बदनाम छन्। भारतप्रतिको प्रेमलाई लिएर फिल्म बन्ने क्रम जारी छ। तर, यी फिल्ममा प्रायः संभावनाभन्दा पर कल्पनामा आधारित हुन्छन्। निश्चित धर्म (प्रायः मुस्लिम) प्रतिको घृणालाई प्रस्तुत गरिन्छ।
तर, ‘सरदार उधम’ भारतमा चलिआएका देशभक्तिको फिल्म होइन। कसैप्रति घृणाभाव नफैलाई आफ्नो देश र अधिकारको लागि गरिएको संघर्षको कथालाई फिल्ममा देखाइएको छ।
हत्या : विद्रोहको उपाय!
फिल्मले उधम सिंह (विक्की कौशल अभिनित)को कथा भन्छ। उनी स्वतन्त्रता संग्राममा भगत सिंहका सहयात्री थिए। माइकल ओ डायरको हत्याबाट सुरु भएको फिल्ममा रहस्यका पर्दाहरू बिस्तारै उघारिँदै जान्छन्। सार्वजनिक समारोहमा डायरमाथि गोली चलाएका उधम त्यस लगत्तै आत्मसमर्पण गर्छन्।
‘हत्या के हो?’
तपाईंको जवाफ हुनसक्छ– अपराध।
निर्देशक सिर्कारले भने हत्यालाई फरक ढंगको परिभाषित गर्न खोजेका छन्। उनी हत्याको पक्षमा त उभिदैनन्। तर, त्यो हत्या जायज भएको ठान्छन्। हत्यालाई विद्रोहको रूपमा अथ्र्याएका छन्।
हिरासतमा रहेका उधम सिंहले सोधपुछका क्रममा आफूले गरेको हत्यालाई ‘जायज’ भएको बयान दिएका छन्, जसलाई उनी सन् १९१९ को जल्लियावाला बाग नरसंहारको बदला भएको बताउँछन्।
‘सरदार उधम’ले ऐतिहासिक कथा प्रस्तुत गरेको छ। एतिहासिक कथामा धेरै तोडमोड हुँदैन। तर, त्यस्ता घटनामा प्रश्न उठाउन सकिन्छ। यद्यपि, इतिहासका पुस्तकहरुमा उल्लेख गरेभन्दा फरक कथा फिल्ममा छैन। कथाको प्रस्तुतीकरण भने फरक छ। कथामा भारतीय स्वतन्त्रता संग्राम, कम्युनिष्ट विचारधाराको प्रभावजस्ता प्रसंगलाई प्रस्तुत गरिएको छ।
उधम सिंहले गरेको भारतदेखि लण्डनसम्मको यात्रा पनि फिल्मको एउटा पक्ष हो। उक्त यात्रामा उधम रसियाली साम्यवादसँग निकट भएका छन्। आइरिस क्रान्ति र अन्य मजदुर आन्दोलनमा सामेल हुन्छन्। यी सबै आन्दोलनबाट आफ्नो विचारलाई स्पष्ट बनाएर बेलायत पुगेका हुन्छन्। अनि लन्डलमा ‘इस्ट इण्डिया कम्पनी’को कुनै सम्मेलनमा उद्घोषण गरिरहेका डायरको हत्या गर्छन्।
फिल्ममा एकसाथ दुई कथा देखाइएको छ। एकातिर उधम सिंह बेलायततर्फ गएका हुन्छन्, जहाँ उनी बदलाको भावनाले काम गरिरहेका हुन्छन्। अर्कातिर, भारतमा स्वतन्त्रताको निम्ति सुरुवाती समयमा संघर्ष गरिरहँदाको कथा छ। जल्लियानवाला बागमा भएको नरसंहारदेखि ‘हिन्दुस्तान समाजवादी रिपब्लिकन एसोसिएसन’ले गरेको संघर्ष पनि फिल्ममा देखाइएको छ।
सरदार उधम फिल्ममा ‘भारत के हो?’ भन्ने प्रश्नको जवाफ पाइन्छ। फिल्म निर्माणको पक्षदेखि कथाको विषयमा पनि निर्देशक सिर्कारले स्पष्ट दृष्टिकोण दिएका छन्।
डायरको हत्यापछि हिरासतमा सोधपुछको क्रममा उधम सिंहसँग प्रश्न गरिन्छ, ‘त्यसो भए तिमी बेलायती मानिसलाई घृणा गर्छौं?’
चोटले भरिएको अनुहारमा थोरै मुस्कान राख्दै उनी जवाफ दिन्छन्, ‘होइन, मेरा धेरै बेलायती साथीहरू छन्। म तिमी (सोधपुछ गर्ने व्यक्ति)लाई पनि घृणा गर्दिनँ। तिमी केबल आफ्नो काम गरिरहेका छौ।’
फिल्मको लेखनदेखि प्रस्तुतीकरणमा भएको फरकपन ‘सरदार उधम’को सुन्दरता हो। भारतको स्वतन्त्रताका लागि लड्नेहरू रगतका भोका थिएनन्, बरु दयालु थिए। उनीहरूले बेलायती साम्राज्यवादबाट मुक्ति मात्रै चाहेका थिए। फिल्मका यी पक्षहरूले क्रान्तिको कथन बोकेको छ।
फिल्ममा उधम सिंह र भगत सिंह दुवैको विचारलाई पात्रहरूमार्फत प्रस्तुत गरिएको छ। ‘कसका लागि, कोबाट र किन स्वतन्त्रता’ भन्ने प्रश्नको जवाफ खोजिएको छ। इतिहासको वास्तविक चित्रणसँगै भावनाको शक्तिशाली मिश्रण बोकेको फिल्मले भारतमा बेलायतको शासन र शासनकालमा भएका नागरिक विरोधी नीतिहरुको पनि चित्रण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।