काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले नयाँ कार्यसमितिको पहिलो बैठकबाटै खेलाडी तथा कोचको विवादबारे निर्णय लिइने बताएका छन्।
निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘छानबिन समितिको प्रतिवेदनबारे वृहत रुपमा छलफल गर्छौं र फेरि सबै पक्षसँग छलफल गरेर यो समस्याको समाधान गर्ने प्रयास गर्नेछौं।’
उनले वर्तमान अवथामा एन्फा र जिल्ला, क्लब तथा खेलाडीबीच सबैतिर सम्बन्ध नराम्रो भएको अवस्था रहेकोमा सबैलाई एकजुट र सुमधुर सम्बन्ध कायम राख्दै एउटै मालामा मिलाएर लैजाने प्रतिबद्धता जनाए।
नेम्वाङले साधारणसभामै अडिट रिपोर्ट पेश गर्न नसकेकोसहितका थुप्रै दायित्व आफूहरुसामु रहेकाले क्रमशः ती दायित्व पूरा गर्दै जाने बताए। फिफाले प्रारम्भिक रुपमा आर्थिक प्रतिबन्धजस्तै लगाएकाले सम्बन्धित पक्षसँग कुराकानी गरेर समाधान गरिने बताए।
उनले आफ्नो कार्यकालमा साफ च्याम्पियनसिप जित्ने उद्देश्यले अघि बढ्ने पनि बताए। त्यसका लागि ग्रासरुट, युवा तथा महिला केन्द्रित प्रतियोगिता हुने उनको भनाइ छ। यस्तै, महिला फुटबल तथा राष्टिय लिग सुरु गर्ने पनि उनले बताए।
अध्यक्ष नेम्वाङले श्वेतपत्र जारी गर्ने उल्लेख गर्दै चार वर्षे कार्यकालमा एन्फाका सबै आर्थिक, प्रशासनिक कार्यमा के–के कमजोरी रहे भन्नेबारे समितिमार्फत् प्रष्ट पार्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।