काठमाडौं– उदयपुर गाइघाटकी शान्ति मगर काठमाडौंको फुटपाथमा विगत १५ वर्षदेखि चिया बेच्दैछिन्। झरी होस् या शरीर कपाउँने जाडो ४७ वर्षीया शान्तिलाई चिया बेच्न केहीले रोकेन। बिहानै चार बजे उठ्छिन्, चिया पकाउने भाँडाकुँडा बोकेर डेराबाट निस्किन्छिन्।
कलंकीको चोकमा पुगेर एउटा टेबलमा स्टोभ राख्छिन्। कालो र दूधको दुईथरी चिया पकाउँछिन्। उनी बिहान ७ बजेसम्म चिया बिक्री गर्छिन्। बिहान मात्रै होइन, उनी साँझ पनि उसैगरी सडकमा निस्किन्छिन्। साँझ पाँच बजेदेखि चिया बेच्न थालेकी शान्ति बेलुका ८ बजेसम्म चोकमा ग्राहकलाई चियाँ दिँदै हुन्छिन्।
‘सडकमा यसरी बस्ने कसलाई रहर छ र? बालेनले अब यसरी व्यापार गर्न दिँदैन भनेको सुन्छु। तर, अहिले सम्म त बालेनका प्रहरीले मलाई भेट्दैनन्। उनीहरु बल्ल ६ बजे आउँछन्। बालेन उठ्दा त म चिया बेचिसकेर पनि डेरा पुगिसक्छु होला?’ उनले हाँस्दै भनिन्।
उनी दिनमा कालो चिया ४० कप बेच्छिन्। दूध चिया ३० कपदेखि ५० कपसम्म बिक्री हुने उनी बताउँछिन्। ‘व्यापार भनेको कहिले हुन्छ, कहिले हुँदैन। सधैं एकनास हुँदैन। यति–उति भन्ने नै हुँदैन। चिया धेरै बिक्री भाको दिन पाँच सयदेखि १२ सयसम्म कमाई हुन्छ। म बसेको ठाउँमा मान्छेको चहलपहल धेरै हुँदैन। कहिले त एक/दुई सयको पनि व्यापार हुँदैन,’ उनले भनिन्।

शान्तिको जीवन गुजारा गर्ने बाटो भनेकै सडकपेटीको व्यापार हो। योबाहेक आफ्नो कुनै पनि आयस्रोत नभएको उनी बताउँछिन्। चिया बेचेर आफ्नो लागि मात्रै होइन छोराका लागि पनि पुर्याउनपर्छ उनलाई। पहिले त छोरी पनि साथैमा थिइन्। चिया बेचेरै तीन जनाको पेट पाल्नुपर्थ्यो। अहिले छोरीको विवाह भएपछि छोरा र आफ्नो पेट चिया बेचेरै पालेकी छिन्।
सात वर्षअघिसम्म उनलाई श्रीमान्को सहयोग पनि थियो। खानलाई त्यति दुःख थिएन। ‘उहाँ गाडी चलाउनु हुन्थ्यो। छोराछोरी राम्रै स्कुल पढाइएको थियो। तर उहाँ बित्नुभयो,’ उनी भक्कानिइन्।
शान्तिका श्रीमान् कलंकीमा सडक दुर्घटनामा परेर बितेका हुन्। श्रीमान बितेपछि छोराछोरी पढाउने, घर सम्हाल्ने सबै जिम्मेवारी शान्तिकै काँधमा आयो। त्यसपछि शान्ति अझ खटेर काम गर्न थालिन्। ‘व्यापार गर्न दिएन भने त यो सहरमा बस्न सकिँदैन। के पो गर्ने हो’, उनले भनिन्।
शान्तिले अहिले चिया बेचेरै छोरालाई पढाइरहेकी छन्। उनका छोरा स्नातक तेस्रो वर्षमा अध्ययनरत छन्। चिया बेचेर राम्रो आम्दानी हुन्छ। तर, खर्च पनि सोहीअनुसार हुँदा मुस्किलले पुर्याउनुपर्छ।
‘आफूलाई सुगरले च्यापेको छ। औषधि खानुपर्यो। महिनामा पाँच हजार त मेरो उपचारमै सकिन्छ। कोठाभाडामा ७ हजार सकिन्छ,’ उनले भनिन्।
काठमाडौंमा सबैको व्यवसाय तारे होटेल, महंगा रेस्टुराँ र ठूला–ठूला सपिङमलमा मात्रै छैन। कैयौंको व्यवसाय शान्तिको जस्तै फटपाथले धानेको छ। राजधानीको फुटपाथ मान्छे हिँड्ने बाटोमा मात्रै होइन, कैयौंको दुई छाक जोहो गर्ने माध्यम पनि हो। बिहान–बेलुका दुई समय सडक पेटीमा व्यापार थाप्नेहरुले पनि कैयौं सपना बुनेका छन्।
कलंकीस्थित शहिद मेमोरियल हस्पिटल नजिकै स्युचाटार जाने बाटोमा एउटा ठूलो छाता ओढाएर नाङ्ले पसल थापिएको थियो। पानीको छिटाबाट बचाउन भित्तामा पातलो प्लास्टिक टाँगिएको थियो। थोत्रे लुगाहरु विच्छ्याइएको एउटा विस्तरा थियो। एउटी बृद्धा भर्खरै निन्द्राबाट ब्युँझिएर आँखा मिच्दै थिइन्। उनी हुन् मकवानपुर पालुङकी बच्चुमाया मगर।
‘राती १० बजे आएर बस्छु। बिहान ७ बजे पसल उठाउँछु। यहिँ ओछ्यान लगाउँछु। सुतीसुती चिया बेच्छु’, आँखा मिच्दै बच्चुमाया बोलिन्।
बच्चुमाया ८ वर्षदेखि सडकमा चिया बेच्दै आएकी छन्। उनी घरमै चिया पकाउँछिन्। दुईटा ठूल्ठूला चियादानीमा भर्छिन्। एउटामा दूध चिया, अर्कोमा कालो। अनि कलंकी चोकमा निस्किन्छिन्। चिया बेच्न सडकमै रात बिताउँछिन्। चिया मात्र होइन। उनले नाङ्लामा बिस्कुट, चाउचाउ, चक्लेट, चुरोट राखेकी छन्। रातको समयमा पानी छेक्न राखेको छाता बरु मकाउँछ। छाता फेरिन्छ। तर उनको रात फेरिँदैन।
बच्चुमाया रातभरीमा २५ कप दूधचिया र २५ कप कालोचिया बेच्छिन्। दूधचियाकी प्रतिकप २० र कालोचिया प्रतिकप १५ रुपैयाँ। दिनमा १५ सयदेखि दुई हजारसम्म कमाई गर्छिन्।
‘अस्पतालमा आउने बिरामी कुरुवा चिया पिउन आउँछन्। उनीहरुले चियासँगै बिस्कुट पनि खाइदिन्छन्। कसैले चुरोट किन्छन्। अलि–अलि बिक्छ,’ उनले भनिन्।

उनका परिवारमा श्रीमानसँगै दुई छोरा र दुई छोरी छन्। उनका जेठा छोरा रोजगारीका लागि विदेश गएका छन्। कान्छा छोराले पनि फुटपाथमा तरकारी बेच्छन्। एउटा छोरा र एउटी छोरीको विवाह भइसकेको छ। त्यहि पनि बच्चुमाया साउने झरीको प्रवाह नगरी छाता ओडेर रातभरी सडकमा चिया बेच्छिन्।
‘विदेश गाको छोराले के–कति कमाउँछ। हामीलाई सुको दिँदैन। कान्छाले तरकारी बेचेर अलि–अलि कमाउँछ। ठूलो जहान छ। खानलाई एउटाले गरेर पुग्दैन। त्यसमाथि म आफैं बिरामी छु। दिउँसो बेच्न बसे नगरपालिकाले लखेट्छ। फेरि म दौडिन सक्दिनँ। केहि गर्जो टर्छ कि भनेर रातिमा भए पनि काम गर्छु,’ उनी भन्छिन्।
जहान ठूलो भएकाले उनीहरुले फ्ल्याट नै भाडामा लिएका छन्। फ्ल्याटको भाडा महिनामा १८ हजार तिर्नुपर्छ। उनलाई दमको समस्या छ। जेठी छोरी पनि मानसिक रुपमा अस्वस्थ छिन्। श्रीमान् पनि बृद्धावस्थाका छन्।
‘बिरामी छु, महिनामा चार हजार आफ्नो उपचार गराउँदा सकिन्छ। यस्तो झरीको बेलामा कसलाई रातभरी सडकमा बस्न रहर लाग्छ र? समस्या नभए यस्तो सडकमा रातभर एक्लै किन बस्थेँ?’, उनले भनिन्।
बाफल बस्ने गीता खड्का दुई हातमा थर्मस झुण्ड्याउँदै हिँडेरै चिया बेच्छिन्। उनी विगत पाँच वर्षदेखि फुटपाथमा हिँडेरै चिया बेच्दै आएकी छन्। चिया बेच्नु उनको बाध्यता हो। चिया नबेचे छाक टर्दैन। बिहान–बेलुका घरबाट नै चिया पकाएर थर्मसमा हालेर बेच्न निस्किन्छिन्। कलंकीको सडकमा आएर कहाँ मान्छेको भीड लागेको छ भनेर यसो हेर्छिन्। जहाँ अलि भीड छ त्यहिँ पुग्छिन्। हिँडेर चिया बेच्ने हुँदा उनलाई नगरपालिकाले लखेट्ने समस्या भने हुँदैन।
उनले दिनमा कालो चिया ४० कप बेच्छिन्। दूधको चिया ५० देखि ६० कप बेच्छिन्। सिजनमा उनले अझ धेरै बिक्रि हुने बताउँछिन्। दुधको चिया प्रतिकप २० रुपैयामा बेच्छिन्। कालो चिया प्रति कप १५ रुपैयाँमा बेच्छिन्। ‘दिनमा राम्रै कमाई हुन्छ। १२ सयदेखि दुई हजारसम्म फाइदा हुन्छ,’ उनले भनिन्।
उनका परिवारमा श्रीमान् दुई छोरा र एक छोरी छन्। श्रीमान कलेजोको समस्याबाट ग्रसित छन्। चिया बेचेर श्रीमानको उपचार गर्छिन्। हुन त उनका श्रीमान् नेपाल प्रहरीका असई हुन्।

‘श्रीमानको पेन्सन त आउँछ तर त्यतिले कहाँ पुग्छ र? छोराछोरी पढाउनुपर्यो। बिरामी श्रीमान्को उपचार गर्नुपर्यो। काहाँ रहरले चिया बेचेको हो र?’, उनले भनिन्।
यस्तै ओखलढुंगाकी सम्झना बुडाथोकी विगत २१ वर्षदेखि कलंकीको फुटपाथमा चिया बेचेर गुजारा गरिरहेकी छन्। उनले दिनमा ५० कप कालो चिया बेच्छिन्। दूधको चिया ६० देखि ८० कप सम्म बेच्छिन्। सिजनमा अझ धेरै बिक्री हुने उनी बताउँछिन।
‘दिनमा राम्रै कमाई हुन्छ। १५ सयदेखि दुई हजारसम्म फाइदा हुन्छ,’ उनले भनिन्। सडकपेटीमा चिया बेच्नु सम्झनाको पनि बाध्यता हो। चिया नबेचे साँझ–बिहान हात मुख जोरिँदैन। श्रीमान्को सहारामा रहेकी उनी श्रीमानले दोस्रो विवाह गरेपछि आफू सडकसँग निर्भर हुनु परेको बताउँछिन्।
‘२१ वर्षअघि उहाँले अर्कै ल्याउनु भयो। अनि आफू र छोरीहरुका लागि आफैं सोच्नुपर्ने भयो,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।