एजेन्सी –इजरायली हवाई आक्रमणमा गाजामा एक चिकित्सकका नौ सन्तानको मृत्यु भएको छ । १० बच्चा रहेकी स्थानीय चिकित्सक डा. अलाआ अल–नज्जारको खान युनिसमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा उनका १० मध्ये ९ सन्तानको मृत्यु भएको हो ।
नासेर अस्पतालका अनुसार उनका श्रीमान् र ११ वर्षीय छोरा आदम घाइते भएका छन् । बेलायती सर्जन ग्रेम ग्रुमका अनुसार आदमको शरीरभरि छर्राबाट गम्भीर चोट लागेको छ । डा. अल–नज्जारका श्रीमान्, जो आफैँ पनि चिकित्सक हुन् । उनी टाउकोमा चोट लागेर गम्भीर घाइते बनेका छन् ।
ग्रुमका अनुसार उनीहरूको कुनै राजनीतिक वा सैन्य सम्बन्ध थिएन । हमासद्वारा सञ्चालित सिभिल डिफेन्सका अनुसार अल–नज्जारको घरबाट शुरुमा आठ र त्यसपछि एक गरी ९ जनाको शव निकालिएको छ । संयुक्त राष्ट्रसंघले गाजामा युद्धको सबैभन्दा क्रूर चरण चलिरहेको बताउँदै इजरायली नाकाबन्दीको आलोचना गरेको छ ।
यसै साता केही राहत सामग्री गाजामा प्रवेश गरे पनि २१ लाख जनसंख्याका लागि त्यो पर्याप्त छैन । खाद्यान्नको अभावका कारण आमाहरूले शिशुहरूलाई स्तनपान समेत गराउन नसकेको गाजावासीहरूको गुनासो छ । गाजामा इजरायली आक्रमणमा हालसम्म झण्डै ५४ हजार मानिसको मृत्यु भइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।