बैङ्गलुरु –इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलोपल्ट च्याम्पियन भएको रोयल च्यालेन्जर्स बैङ्गलुरु (आरसिबी)को विजयी उत्सव मनाउने क्रममा भएको भागदौडमा परेर अहिले सम्म ११ जनाको ज्यान गएको छ । अहमदाबादमा मंगलबार सम्पन्न १८औं सिजनको फाइनलमा पन्जाब किङ्सलाई ६ रनले हराउँदै बैङ्गलुरु च्याम्पियन भएको थियो ।
उक्त जितको खुसीयालीमा बैङ्गलुरुमा ठूलो विजयी उत्सव निकालीएको थियो । त्यसक्रममा क्रममा बुधबार ११ जनाको ज्यान गएको कर्नाटका राज्यका मुख्यमन्त्री सिद्धारमैयाले बताएका छन् ।
लाखौं समर्थकले बैङ्गलुरुको टोलीलाई राज्यमा स्वागत गरेका थिए । तर, अत्यधिक मानिसको भीडमा एक्कासि भागदौड मचिएपछि ठूलो मानवीय क्षति हुन पुगेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनालाई हृदयविदारक भनेका छन् । कर्नाटकाका मुख्यमन्त्री सिद्धारमैयाले यो भागदौडमा परेर ११ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको बताएका छन् ।
‘कसैले पनि यतिका धेरै समर्थक आउने सोचेका थिएनन्,’ मुख्यमन्त्रीले भने, ‘बैङ्गलुरुको सम्मानमा ३५ हजार क्षमताको स्टेडियममा कार्यक्रम राखिएको थियो । तर, कहाँबाट दुईदेखि तीन लाख समर्थक आइपुगे ।’ उनले धेरै समर्थक आएकाले पुलिसले पनि समाल्न नसकेको उल्लेख गरे । विजयी टिमको सम्मानमा समर्थकहरू सहरमा निस्किएको र तर भीड नियन्त्रणभन्दा बाहिर गएपछि बैङ्गलुरु टिमको आगमन रोकिएको थियो । ‘यो दुखदायी घटनाले गर्दा जितको खुसी पनि मेटिदियो,’ उनले भने, ‘यो घटनाबारे छानबिन गर्न निर्देशन दिएको छु । सरकारले यो दुखदायी घटनामा धेरै राजनीति गर्ने छैन । यस किसिम घटना हुनुहुदैनथ्यो । हामी पीडितको साथमा छौं ।’
कर्नाटकाका उपमुख्यमन्त्री डिके शिवकुमारले एकैपल्टै हजारौं मानिस सहर आएकाले सुरक्षाकर्मीले भीड समाल्न नसकेको बताएका छन् । शिवकुमारले टोलीको सम्मानमा थोरै समयको कार्यक्रम राखिएको पनि उल्लेख गरे । आयोजकले बैङ्गलुरुलाई सम्मान गर्ने कार्यक्रम अगाडि नै सामाजिक सन्जालमा टोलीलाई स्वागत गरेको भिडियो राखेको थियो, जहाँ स्टार क्रिकेटर विराट कोहलीले पनि हात हल्लाउँदै सम्बोधन गरेका थिए । आइपिएलका चेयरमेन अरूण धुमलले स्टेडियममा भएको घटनाबारे आयोजकले जानकारी नगराएको उल्लेख गरेका छन् । एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।