काठमाडौं– औषधि, बच्चाको दूध, खाद्यान्नलगायत राहत सामग्री बोकेर गाजातर्फ गइरहेको एउटा डुङ्गालाई सोमबार बिहान इजरायली सेनाले नियन्त्रणमा लिएको छ । त्यसमा जलवायु अभियन्ता ग्रेटा थनबर्गसहित १२ जना स्वयंसेवकहरू सवार थिए । इजरायलले हमाससँगको युद्धका कारण गाजामा नाकाबन्दी थप कडा बनाइरहेका बेला यो घटना भएको हो ।
एपीको समाचारअनुसार गाजामा भइरहेको इजरायली आक्रमण र मानवीय सहायता रोकिएको विरोधमा थनबर्गसहितका अभियन्ता राहत सामग्री पुर्याउन डुङ्गा चढेर यात्रामा निस्किएका थिए । सो अभियान ‘फ्रिडम फ्लोसिला कोअलिस’ ले आयोजना गरेको थियो । इजरायली सेनाले नियन्त्रणमा लिएपछि कोअलिसले आफूहरूलाई अपहरण गरिएको जनाएको छ ।
‘हामीलाई इजरायली सेनाले अपहरण गरेको छ,’ कोअलिसको विज्ञप्ति उद्धृत गर्दै एपीले लेखेको छ, ‘सेनाले गैरकानुनी रूपमा हाम्रो डुङ्गा नियन्त्रणमा लिएको छ, निहत्था नागरिकलाई अपहरण गरेको छ । बच्चाको दूध, खाद्यान्न र औषधीजस्ता आवश्यक राहत सामग्रीहरू जफत गरेको छ ।’
उनीहरूको डुङ्गा गाजाबाट झन्डै २ सय किलोमिटर पर अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा रहेका बेला सेनाले नियन्त्रणमा लिएको भन्दै कोअलिसले इजरायली हस्तक्षेपको विरोध गरेको छ । इजरायली विदेश मन्त्रालयले भने यस यात्रालाई 'प्रचारको लागि गरिएको नाटक' को संज्ञा दिँदै एक्समा (ट्विटर) मा लेखेको छ, 'सेलेब्रिटीहरूको सेल्फी डुङ्गा अहिले इजरायली किनारातर्फ सुरक्षित रूपमा आइरहेको छ ।'
मन्त्रालयका अनुसार सबै अभियन्ताहरूलाई उनीहरूको देश फर्काइनेछ र राहत सामग्रीहरू उपयुक्त माध्यमबाट गाजा पठाइनेछन् । इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल नोदाभ शोशानीले डुङ्गा इजरायलतर्फ आइरहेको र अशदोड बन्दरगाहमा पुग्ने जानकारी दिएका छन् । यात्रुहरूलाई सेनाले स्यान्डविच र पानी दिएको तस्बिर पनि बाहिरिएको छ ।
जलवायु अभियन्ता थनबर्गसहित १२ जना सवार रहेको 'मडलिन' नामक डुङ्गा एक साताअघि सिसिलीबाट प्रस्थान गरेको थियो । उक्त डुङ्गाले बिहीबार चारजना आप्रवासीलाई उद्धारसमेत गरेको थिइो । थनबर्गले डुङ्गा नियन्त्रणमा लिएपछि जारी गरिएको प्रि-रेकर्डेड सन्देशमा भनेकी छन्, 'म आफ्ना साथी, परिवार र सम्पूर्ण सहकर्मीहरूलाई आग्रह गर्छु, हामीलाई चाँडै मुक्त गराउन स्वीडेन सरकारमार्फत दबाब दिनुहोस् ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।