काठमाडौँ –वेस्ट इण्डिजका आक्रामक ब्याटर तथा विकेटकिपर निकोलस पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत २९ वर्षीय पूरनले अप्रत्यासितरूपमा सन्न्यासको घोषणा गरेका हुन् । उनले वेस्ट इण्डिजका लागि ६१ ओडिआई र १०६ टी–२० आई खेल खेलेका थिए ।
टी–२० आईमा सन् २०१६ मा डेब्यू गरेका पूरनले ओडिआईमा २०१९ मा पदार्पण गरेका थिए । पछिल्लो समय फ्रेन्चाइज लिगमा व्यस्त रहँदै आएका उनले राष्ट्रिय टोलीका महत्वपूर्ण खेलमा पनि सहभागिता जनाएका थिएनन् ।
वेस्ट इण्डिज क्रिकेट बोर्डसँगको असन्तुष्टि र निरन्तर असहभागितापछि उनले सन्न्यास लिएको बुझिएको छ । सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा नेपालविरुद्ध उनले ११५ रनको इनिङ खेलेका थिए । पूरनले हालै सम्पन्न आइपिएलमा लखनऊबाट खेल्दै १४ खेलमा ४२४ रन बनाएका थिए ।
उनले सन् २०२१ देखि २०२२ सम्म वेस्ट इण्डिज टिमको कप्तानी गरेका थिए । उनको कप्तानीमा टोलीले २३ टी–२० आईमध्ये ८ म्याच जितेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।