काठमाडौँ– कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन्।
ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी संगठन कमजोर बन्दै गएको चेतावनी दिए।
साउदले भने, ‘राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ। यो केवल दलहरूमा होइन, संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसले स्पष्ट आवाज उठाउनुपर्छ।’
उनले आसन्न २०८४ को निर्वाचनलाई संकेत गर्दै पार्टी कुनै कोणबाट तयार नभएको बताए। ‘हेर्दा हेर्दै ०८४ पनि नजिक आइसकेको छ। तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो।’
पार्टीभित्रको अनुशासन, गुटबन्दी र असमान व्यवहारप्रति असन्तुष्टि जनाउँदै साउदले अनुशासनका नाममा एक पक्षीय कारबाही भएको बताए।
उनले पार्टीका शीर्ष नेताहरू देशभर घुमिरहे पनि सङ्गठन बलियो नबनेसम्म कांग्रेस सशक्त नबन्ने बताए। उनले पार्टीलाई समय अनुकूल अपडेट गर्दै गुटबन्दी अन्त्य गर्न र सङ्गठन मजबुत बनाउनेतर्फ तुरुन्त ध्यान दिन नेतृत्वलाई आग्रह समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।