काठमाडौँ– नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले पार्टी विधान संशोधन गरेर महाधिवेशन दुई चरणमा गर्नुपर्ने प्रस्ताव गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा. रिजालले दुई चरणको महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन्।
कांग्रेसले १५ औं महाधिवेशन अघि विधान संशोधन गर्ने निर्णय गरिसकेको छ। यद्यपि, विधान मस्यौदा समिति भने गठन भइसकेको छैन।
विधानमा गर्नुपर्ने संशोधनहरूका विषयमा चर्चा चलिरहँदा नेता रिजालले दुई चरणमा संशोधन गर्नुपर्ने विचार राखेका हुन्।
महाधिवेशन प्रतिनिधि मात्रै छनोट गरेर सभापति चयन गर्ने गरी पहिलो चरणको संशोधनको प्रस्ताव उनले राखेका छन्।
‘पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन गरौँ। र, महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौँ,’ रिजालले भने, ‘त्यो सभापतिको तत्काल कार्यकाल सुरु गर्ने होइन। आम निर्वाचन पछाडिको मात्रै कार्यकाल सुरु हुनेछ।’
दोस्रो चरणमा विधान संशोधन गर्दा त्यसबेलाको सभापतिले आफूले चाहे अनुसारको व्यवस्था अनुसार विधानमा राख्न सक्ने उनले बताए।
‘सभापति हुने व्यक्तिले विधान संशोधनको प्रस्ताव पार्टी लिएर उसले जान्छ। जस्तो पार्टी बनाउन खोजेको हो, जति वटा निर्वाचन बनाउन खोजेको हो,’ रिजालले केन्द्रीय समिति बैठकमा भने, ‘जुन जुन तह राख्न खोजेको हो, त्यही अनुसारको प्रस्ताव होला। आम निर्वाचन सकिएपछि कांग्रेसले बाँकी कामका लागि बाँकी महाधिवेशन गर्छ।’
आम निर्वाचन पछि केन्द्रमा पदाधिकारी र केन्द्रीय सदस्य तथा प्रदेश समिति र मातहतका समितिको निर्वाचन गर्नुपर्ने प्रस्ताव रिजालको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।