सुत्केरी अवस्था भनेको बच्चा जन्मेको शुरुको ६ हप्तालाई बुझिन्छ। यो समय सुत्केरी महिलाको लागि अत्यन्तै महत्वपूर्ण हुन्छ। किनकि यही समयमा महिलाको शरीर बच्चा बस्नु भन्दाको पहिलाको अवस्थामा फर्किएर बलियो वा दरिलो हुनु पर्दछ। यस अवस्थालाई सहज, सजिलो बनाउनको लागि स्वास्थ्यकर्मी, घर परिवार, आफन्तबाट साथ, सहयोगको खाँचो पर्दछ। बच्चा जन्माइसके पछि दूध खुवाउने आमालाई (सुरुको २ वर्ष) विशेष प्रकारको स्याहार र खानपानको आवश्यकता पर्दछ।
बच्चा पाउनु भनेको प्राकृतिक प्रकृया हो, कुनै रोग लागेको अवस्था होइन। त्यसलै सुत्केरी महिलालाई पोषिलो र सन्तुलित सबै प्रकारको स्रोतहरु समावेश भएका (कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, खनिजयुक्त साथै पानी) खानेकुरा हुनु पर्दछ। जसमा अन्न, गेडागुडी, सबै प्रकारका तरकारी सहित हरिया सागसब्जी, मौसम अनुसारका फलफूल, दूध र यसबाट बनेका परिकार दिनु पर्दछ। यदि मांसाहारी हुनुहुन्छ भने मांसाहारी (मासु, माछा, अण्डा) खानेकुरा पनि खान सकिन्छ। सुत्केरी दूध खुवाउने आमालाई अरु समयमा भन्दा बढाएर र सबै प्रकारका खानाहरु मिलाएर हरेक ३-४ घन्टामा खुवाउनु पर्दछ। यदि सुत्केरी महिलालाई विशेष स्वास्थ्य समस्या (मेडिकल रोग) छ भने खानाको लागि स्वास्थ्यकर्मीको सल्लाह अनुसार दिनु पर्दछ।
महिलालाई आवश्यक पोषण पुग्नाले सुत्केरी अवस्थाबाट तंग्रिन सहयोग गर्नुको साथै बच्चालाई पोषिलो र प्रशस्त दूध उत्पादन हुनको लागि सहयोग गर्दछ। सुत्केरी महिलालाई खानेकुरा दिने कुरामा हाम्रो समाजमा अन्धविश्वास र गलत धारणाहरु पनि छन्। जस्तै हरिया सागपात, कर्कलो, तरकारीमा फर्सी, गोलभेडा, आलु आदि दिनुहुन्न, जसले गर्दा चिसो लाग्दछ, बच्चाले हरियो दिशा गर्दछ। फलफूल खाँदा पनि चिसो लागेर खोकी लाग्दछ भन्ने गलत धारणा आम मानिसमा छ। जबकि यतिबेला महिलाको शरीरमा रगतको कमी हुने हुँदा रगतको मात्रा बढाउनको लागि ताजा हरिया सागपात, सबै प्रकारका तरकारीहरु, सलादहरु र मौसम अनुसारका फलफुलहरु दिनु पर्दछ। यदि मांसाहारी खानेकुरा खानुहुन्छ भने माछा, मासुजन्य खानेकुराले पनि छिटो रगत बढाउन सहयोग गर्दछ। फलफुलहरु र सलादहरु दिंदा फ्रीजबाट निकालेर २-३ घन्टा बाहिर कोठाको तापक्रममा राखेर दिन सकिन्छ। यतिखेर महिलाको हिडडुलमा कमी हुँदा कब्जियतको समस्या हुन सक्दछ। तसर्थ हरिया सागपात, फलफूलहरु र सलादहरु साथै पानी पनि मिलाएर प्रशस्त मात्रामा खानाले यस समस्याबाट जोगिन सकिन्छ।
प्रोटिनयुक्त खानेकुरा खुवाउने कुरामा पनि अन्धविश्वास लगायत गलत धारणाहरु छन्। विशेषतः गेडागुडी (कालो मास) माछा, मासु खाँदा घाउ पाक्छ अथवा संक्रमण हुन्छ र अण्डा दिँदा शरीर सुनिन्छ भन्ने जस्ता गलत धारणा र विश्वास गरिन्छ। झन् यति बेला महिलालाई प्रोटिनयुक्त खानेकुराको बढी आवश्यकता हुन्छ। यतिखेर महिलाको पाठेघर र यौनांगमा घाउ लगायत शल्यक्रिया गरिएको छ भने पनि यस्ता खानेकुराको आवश्यकता बढी मात्रामा हुन्छ। प्रायजसो महिला गर्भवती हुँदा तौल बढेको कारणले खुट्टा सुनिएको हुन्छ । यसलाई ठीक पार्नको लागि पनि प्रोटिनयुक्त खानाको मात्रा बढाउनु पर्दछ। यस्तो बेलामा घाउ छिटो निको हुन नयाँ कोषिकाहरु छिटोछिटो बन्नुपर्ने हुँदा प्रोटिनयुक्त खानाहरु जस्तै – गेडागुडी, दूध र यसबाट बनेका परिकारहरु साथैयदि मांसाहारी खानेकुरा खानुहुन्छ भने माछा, मासु र अण्डा खानको लागि प्रोत्साहन गर्नु पर्दछ। यसका साथसाथै उपलब्ध गराउन सकिन्छ भने सुख्खा फलहरु जस्तै बदाम, ओखर, काजु आदिलाई पनि मिलाएर खाँदा शरीरलाई चाहिने राम्रो चिल्लो पदार्थ प्राप्त गर्नुको साथै प्रोटिन र अन्य आवश्यक पोषण तत्व पाइन्छ।
यो समयमा महिलाले बच्चालाईस्तनपान गराउनु पर्ने हुँदा क्यालसियमयुक्त खानेकुराको बढी मात्रमा जरुरत हुन्छ। दूध र यसबाट बनेका परिकार, तोफू, आलमोन्ड आदि कुराहरुमा क्यालसियम धेरै मात्रामा पाइन्छ र यस्ता खानेकुरा खुवाउन जोड दिनु पर्दछ। प्रायजसो नेपाली समुदायमा सुत्केरी महिलालाई ज्वानोको झोल खुवाइन्छ। बच्चालाई स्तनपान गराउने समयमा पोषणको हिसाबले यसलाई उत्कृष्ट मानिन्छ किनकि यसमा क्यालसियमको मात्रा धेरै हुनुको साथै अन्य खनिज तत्वहरु पनि पाइन्छ। क्यालसियम भएका खानाले दूध उत्पादनमा सहयोग पुर्या्उनुको साथै महिलाको हड्डीलाई बलियो बनाउँछ र शरीरलाई पहिलाको अवस्थामा पुर्याउन सहयोग गर्दछ।
स्तनपान गराउने महिलालाई चिल्लो पदार्थको मात्रा अरु समय भन्दा बढाएर खानु पर्दछ। सकेसम्म वनस्पतिजन्य चिल्लो पदार्थलाई प्राथमिकता दिनु पर्दछ। यतिखेर महिलाले पानीको साथै अन्य प्रकारका झोल पदार्थ पनि बढाएर खानु पर्दछ, जसले गर्दा प्रशस्त दूध उत्पादन हुन्छ।
सुत्केरी महिलाहरुमा सरसफाईमा पनि यतिखेर विशेष ध्यान दिनु पर्दछ। हाम्रो कतिपय नेपाली समुदायमा नङ काट्नु हुदैन, दाँत माझ्नु हुदैन, नुहाएमा चिसो लाग्दछ भन्ने गलत धारणाहरु छन्। यदि उचित र समय समयको सरसफाई भएन भने शरीरमा संक्रमण हुनुको साथै यसले शारीरिक र मानसिक स्वास्थ्यलाई असर पार्दछ।
सुत्केरी महिलाले यो समयमा धुम्रपान गर्नुहुँदैन । यसको कारणले आमा साथै उनको शिशुको स्वास्थ्यमा विशेषत श्वासप्रश्वास समन्धी समस्या ल्याउन सक्दछ। कतिपय नेपाली समुदायको जाति विशेषमा यतिखेर अल्कोहल भएका चीजहरु जस्तै जाँड, छयाङ दिइन्छ। जसले गर्दा सुत्केरी महिलालाई निन्द्रा लागेर आराम हुन्छ र साथै दूध धेरै उत्पादन हुन्छ भन्ने गलत विश्वास छ। यो स्वास्थ्यको लागि राम्रो होइन, किनकि यदि दूध खुवाइरहेकी आमाले यी चीजहरु खाँदा, आमाको दूध मार्फत अल्कोहलको मात्रा बच्चामा जाने र विकास भइरहेको दिमागलाई यसले असर पुर्याउँछ। त्यस्तै यस समयमा क्याफिन भएका चीजहरु जस्तै चिया, कफी, क्याफिनेटेड चकलेट नखानु राम्रो हो, किनकि आमाले यस्ता चीजहरु लिदा दूध मार्फत जाने र बच्चामा निदाउन गाह्रो हुने र कम समय मात्र सुत्ने समस्या आउन सक्दछ। त्यसको साथै यी चीजहरुले शरीरमा खनिज तत्व आइरन सोसिनलाई असर पुर्याउँछ, जुन रगत बढ्नको लागि आवश्यक हुन्छ।
सुत्केरी महिलाले पोषणयुक्त खानाको साथै शारीरिक कसरतमा पनि ध्यान दिनु पर्दछ। बच्चा जन्मेको केही दिनमा महिलाले सामान्य घरको हल्का काम र हिँडडुल गर्दा राम्रो हुन्छ। अमेरिकन कलेज अफ अबसटेटृसियन एण्ड गाइनेकोलोजिस्टको अनुसार सुत्केरी महिलाले हप्तामा १५० मिनेटवा दिनको ३० मिनेटसम्म मध्यम खालकोख (पसिना आउने र श्वासप्रश्वास बढने गरी) कसरत गर्नु पर्दछ। यतिखेर गरिने कसरतहरुमा हिडडुल गर्ने, योगा, डान्स, मेडिटेसन आदि पर्दछन्। शारीरिक कसरत गर्नाले महिलालाई विभिन्न फाइदाहरु हुन सक्दछन्। कसरतबाट हुने फाइदाहरुमा मुख्यतः शरीरको मांसपेशीलाई बलियो बनाउँछ, मुटुलाई स्वस्थ बनाउन सहयोग गर्छ र तौल नियन्त्रणमा सहयोग पुर्याउँछ। जसले गर्दा भविष्यमा हुन सक्ने दीर्घ रोगका समस्याहरु (मोटोपना, उच्चरक्तचाप, मधुमेह)को संभावनालाइ कम गर्दछ। यसको साथै महिलाको मानसिक स्वास्थ्य राम्रो राख्न महत्वपूर्ण भुमिका खेल्दछ। तर बच्चा जन्मेको शुरुको ६ हप्ता गाह्रो गरम भारी बोक्ने वा उचाल्ने गर्नु हुँदैन किनकि यतिखेर महिलाको पाठेघरको आकार ठूलो हुने र आफ्नो सामान्य अवस्थामा आइनपुगेको हुँदा यस्ता कार्यहरुले पाठेघर झर्ने समस्या बढ्न सक्दछ।
सुत्केरी महिला र नवजात शिशु राख्ने कोठा हावा आवतजावत हुने आवश्यक अक्सिजन पुग्ने खालको हुनु पर्दछ। यसको लागि सानो भेन्टिलेसनको ब्यवस्था हुनु पर्दछ। कोठालाई मौसम अनुसार न्यानो राख्नु पर्दछ जसले गर्दा सानो नवजात शिशुलाई चिसो लाग्न नपाओस् । कोठामा कोइला बालेर राख्ने र ग्यास हिटर लामो समयसम्म बालेर गुम्सने गरी राख्नु हुदैन । त्यस्तो ठाउँमा अक्सिजन मात्रा काम भएर निस्सासिने समस्या हुन सक्दछ।
यो समय सुत्केरी महिला र नवजात शिशुको लागि विशेष अवस्था हो। यस समयमा राम्रो स्याहार र हेरचाह पाउँदा स्वास्थ्यमा जटिलता कम हुने गर्दछ। घर परिवार र स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भुमिका हुन्छ। बच्चा जन्मेको शुरुको दिनहरुमा सुत्केरी आमा आफैले आफ्नो र नवजात शिशुको आवश्यक सबै स्याहार र हेरचाह गर्न सक्दिनन्। त्यसैले उनलाई साथ, सहयोग चाहिन्छ। स्वास्थ्यकर्मीहरुले सुत्केरी आमा र उनको परिवारलाई आवश्यक स्वास्थ्य सल्लाह को साथै, स्तनपान गराउन सहयोग, बच्चाको स्याहार गर्ने तरिका सिकाउन सक्दछन् भने घर परिवारले उनलाई सहयोग गर्न सक्दछन्। यदि आमा र बच्चाको स्वास्थ्यमा जटिलता आएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानु पर्दछ।
सुत्केरी महिलाको शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्नको लागि घरपरिवार, स्वास्थ्यकर्मी तथा समुदायको उल्लेखनीय भूमिका हुन्छ। स्वस्थ महिला र बच्चा भोलिको समाज तथा देश विकासको आधार बन्न सक्दछन् ।
(घिमिरे ललितपुर नर्सिङ क्याम्पस (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान)मा सह-प्राध्यापकका रुपमा कार्यरत छिन्।)